बल्ल खुल्यो सेनाको भित्री पाटो, धमाधम किन रोज्न थाले ड्युटी छाड्ने बाटो?

काठमाडौँ । नेपाली सेना भन्नेबित्तिकै कडा अनुशासन, चेन अफ कमान्ड र देशको सुरक्षामा समर्पित संगठनको छवि अगाडि आउँछ। तर यही संगठनभित्र पछिल्ला पाँच वर्षमा बिना अनुमति ड्युटी छाड्ने, लामो समयसम्म सम्पर्कविहीन हुने र अन्ततः भगौडा घोषित हुने सैनिकको संख्या बढ्दै गएको तथ्यले गम्भीर प्रश्न खडा गरेको छ।
रक्षा मन्त्रालयले नेपाली कांग्रेसका सांसद निश्कल राईको लिखित प्रश्नको जवाफमा उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा नेपाली सेनाका १ हजार ४ सय ४३ जना सैनिकमाथि विभागीय सजाय तथा सैनिक अदालतबाट कारबाहीका लागि अभियोगपत्र दायर भएको छ। त्यसमध्ये ६ सय ३० जना सैनिकको कारबाही ड्युटीमा अनुपस्थित हुने, गयल हुने तथा भगौडा हुने प्रकृतिसँग सम्बन्धित रहेको देखिन्छ। अर्थात् कारबाहीमा परेका सैनिकमध्ये ठूलो हिस्सा नियमित ड्युटीबाट अनुपस्थित हुने घटनासँग जोडिएको छ।
तथ्याङ्कले यस्तो प्रवृत्ति पछिल्ला वर्षमा बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष २०७८/७९ मा बिना अनुमति ड्युटीमा अनुपस्थित हुने सैनिकको संख्या ३३ थियो। आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा यो संख्या बढेर ६७ पुगेको छ। पाँच वर्षमै ड्युटी छाडेर अनुपस्थित हुने सैनिकको संख्या दोब्बरभन्दा बढी भएको देखिन्छ।
भगौडा घोषित हुने सैनिकको तथ्याङ्क पनि कम गम्भीर छैन। आर्थिक वर्ष २०७९/८० मा ६१ जना सैनिक भगौडा घोषित भएका थिए। त्यसपछि यो संख्या क्रमशः बढ्दै आर्थिक वर्ष २०८२/८३ मा ९४ पुगेको छ। पाँच वर्षको अवधिमा मात्रै ४ सय २ जना सैनिक भगौडा सम्बन्धी कारबाहीमा परेको तथ्याङ्कले देखाउँछ।
अब मुख्य प्रश्न उठ्छ– आखिर नेपाली सेनामा किन यस्तो अवस्था सिर्जना भइरहेको छ? सैनिकहरूले जागिर छाड्ने वा लामो समयसम्म ड्युटीमा नफर्किने निर्णय गर्नुका पछाडि सेवा–सुविधा, वृत्तिविकास, कामको वातावरण, पारिवारिक अवस्था वा आन्तरिक व्यवस्थापनजस्ता विभिन्न कारण हुन सक्छन्। तर रक्षा मन्त्रालयले संसदमा उपलब्ध गराएको जवाफमा सैनिकहरू ड्युटीबाट किन बाहिरिए भन्ने कारण भने विस्तृत रूपमा खुलाइएको छैन।
सेनाभित्र अनुशासन उल्लंघनका अन्य घटना पनि देखिएका छन्। पछिल्लो पाँच वर्षमा हतियार तथा सैन्य सामग्री हराएको कसूरमा १३ जना सैनिकमाथि कारबाही भएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै यस्तो कसूरमा ७ जना सैनिक कारबाहीमा परेका थिए। त्यस्तै, अघिल्ला चार आर्थिक वर्षमा गोलीगठ्ठा हराएको घटना नदेखिए पनि आर्थिक वर्ष २०८२/८३ मा मात्रै ५ जना सैनिकमाथि गोलीगठ्ठा हराएको कसूरमा मुद्दा दायर भएको तथ्याङ्क छ।