सञ्चारकर्मी सुप्रिया आचार्यको अभिनयमा ‘दशैँको माहोल’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी सुप्रिया आचार्यको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘दशैँको माहोल’ सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका पम्फा बान्जाडेको स्वरमा रहेको गीतको भिडियो निर्माण पक्षले सार्वजनिक गरेको हो । दशैँको सांस्कृतिक माहोलसँगै प्रेम र भावनात्मक कथालाई प्रस्तुत गरिएको गीतको भिडियोमा सुप्रिया आचार्यसहित विभिन्न कलाकारको अभिनय देख्न सकिन्छ ।
अशोक कुमार सापकोटाको शब्द तथा विष्णु तामाङको संगीत र एरेन्जमा गीत तयार गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन् । लोकसंगीतको स्वादलाई केन्द्रमा राख्दै तयार पारिएको गीतमा दशैँको माहोल, पारिवारिक तथा भावनात्मक पक्षलाई समेट्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
निरेन श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सुप्रिया आचार्यसँगै प्रेम लामा, भैरम श्रेष्ठ, प्रेम बिष्टलगायत कलाकारको अभिनय रहेको छ । भिडियोको छायांकन सुनिल भण्डारीले गरेका हुन् भने राजकुमार मगरले पोस्ट प्रोडक्सनको काम गरेका छन् । भिडियोको पोस्ट प्रोडक्सन रोयल मुभिज प्रालिले गरेको हो ।
गीतको भिडियोमा दशैँसँग जोडिएका भावना, भेटघाट, आत्मीयता र सम्बन्धका पक्षलाई दृश्यमार्फत प्रस्तुत गरिएको छ । नेपाली लोकसंगीतको मौलिक स्वादसँगै प्रेम तथा भावनात्मक कथालाई जोडिएकाले गीतले दर्शकको ध्यान खिच्ने निर्माण पक्षको अपेक्षा छ ।
सञ्चारकर्मीका रूपमा सक्रिय सुप्रिया आचार्यका लागि ‘दशैँको माहोल’ अभिनय यात्राको अर्को महत्वपूर्ण कामका रूपमा आएको छ । उनी विगत चार वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय छिन् । आर्थिक मिडिया अर्थ सरोकार डटकममा संवाददाता, समाचार प्रस्तोता तथा कार्यक्रम निर्माताका रूपमा काम गर्दै आएकी आचार्यले यसअघि विभिन्न सार्वजनिक विज्ञापन सन्देश तथा पर्वसँग सम्बन्धित भिडियोमा समेत अभिनय गरिसकेकी छन् ।
सञ्चारकर्मसँगै म्युजिक भिडियो तथा दृश्य सामग्रीमा समेत आफ्नो उपस्थिति बढाउँदै आचार्यले अभिनयलाई अर्को सिर्जनात्मक यात्राका रूपमा अघि बढाएकी छन् । ‘दशैँको माहोल’मा उनको भूमिकाले गीतको कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्न सहयोग पुर्याएको निर्माण पक्षको भनाइ छ ।
राजु परियार र पम्फा बान्जाडेको स्वर, अशोक कुमार सापकोटाको शब्द तथा विष्णु तामाङको संगीतमा तयार भएको यो गीत दशैँको अवसरलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै भिडियोले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।


