विवादित प्रअ जोशी बैतडी बोलाइए, सोधपुछपछि कारबाही अघि बढ्ने !

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुंगा माध्यमिक विद्यालयका विवादित प्रधानाध्यापक दुर्गादत्त जोशीलाई आज बुधबार सोधपुछका लागि नगरपालिकामा बोलाइएको छ। नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि उनको राजनीतिक गतिविधि र पदीय आचरणमाथि प्रश्न उठिरहेका बेला नगरपालिकाले उनलाई बोलाएर घटनाबारे जानकारी लिन लागेको हो।

दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवदत्त सुवेदीले जेन खबरसँग कुराकानी गर्दै विवादित प्रधानाध्यापक जोशीलाई आज बुधबार सोधपुछका लागि बोलाइएको पुष्टि गरे। उनका अनुसार सुरुमा कार्यक्रममा उनको सहभागिता, भूमिका र घटनाको वास्तविकता बुझिनेछ। त्यसपछि प्राप्त विवरण र प्रचलित कानुनी व्यवस्थाका आधारमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइनेछ।

सुवेदीले जेन खबरसँग भने, ‘आज उहाँलाई हामीले सोधपुछका लागि बोलाएका छौँ। सुरुमा घटना के रहेछ बुझ्छौँ। सोधपुछपछि कानुनअनुसार कारबाही गर्छौँ।’

जोशी नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो। तस्वीरमा कांग्रेसको ब्यानरअगाडि उनी सहभागी भएको देखिन्छ। सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक भएपछि सामुदायिक विद्यालयका प्रधानाध्यापक राजनीतिक दलको कार्यक्रममा जिम्मेवारी लिएर सहभागी हुन पाउने वा नपाउने भन्ने विषयमा प्रश्न उठेका छन्।

यसअघि शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा सहभागी भए नभएको निगरानी गर्न पत्राचार गरिसकेको थियो। नियमविपरीत गतिविधि पाइए प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न पनि स्थानीय तहलाई आग्रह गरिएको थियो।

यता प्रधानाध्यापक जोशीले आफू नेपाली कांग्रेसको सक्रिय सदस्य वा संगठित कार्यकर्ता नरहेको दाबी गरेका छन्। कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउन सहयोगका लागि आग्रह गरिएपछि आफू निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको उनको भनाइ छ। उक्त कार्यक्रम शनिबार विद्यालय बिदाको दिन भएकाले आफ्नो सहभागिताले विद्यालयको नियमित पठनपाठन प्रभावित नभएको उनले बताएका छन्।

अब नगरपालिकाले आज हुने सोधपुछबाट घटनाको वास्तविकता, जोशीको भूमिका र लागू हुने कानुनी व्यवस्थाबारे थप स्पष्टता लिने भएको छ। सोधपुछपछि प्रमाण, तथ्य र कानुनी व्यवस्थाका आधारमा के निर्णय हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार:

विवादित प्रअ जोशीमाथि कारबाहीको तयारी, कांग्रेस अधिवेशन पर्‍यो भारी!

बिदा भन्दै चिन्तामणिले कानुनकै खिल्ली उडाए, बैतडीका शिक्षा प्रमुख किन डराए ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button