प्रियंका र नीताको फिल्मी डेब्यूमै झट्का, ‘मास्टर्नी’–‘पार्वती’ले पानी पनि भन्न पाएनन्!

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कुनै समय आफ्नो छुट्टै पहिचान बनाएका दुई अभिनेत्री प्रियंका कार्की र नीता ढुंगानाले फिल्म निर्माण तथा निर्देशनमा नयाँ यात्रा सुरु गरे पनि पहिलो प्रयासमै अपेक्षित सफलता हात पार्न सकेनन्। भदौ महिनामा प्रदर्शनमा आएका प्रियंकाको ‘मास्टर्नी’ र नीताको निर्देशनमा बनेको ‘पार्वती’ले बक्स अफिसमा उल्लेख्य प्रभाव छाड्न नसकेपछि दुवै अभिनेत्रीको नयाँ यात्रामै झट्का लागेको छ।
नायिका प्रियंका कार्कीले ‘मास्टर्नी’मार्फत निर्माणमा डेब्यू गरेकी हुन्। उनको आफ्नै होमब्यानर ‘आयंका फिल्मस्’बाट निर्माण भएको यो चलचित्र भदौ ५ गतेदेखि प्रदर्शनमा आएको थियो। प्रियंका स्वयं मुख्य भूमिकामा रहेको फिल्मले नयाँ विषय र फरक शैली प्रस्तुत गर्ने प्रयास गरेको थियो।
विशेषगरी नेपाली फिल्ममा पछिल्लो समय चलिरहेका सामाजिक तथा पारिवारिक कथाभन्दा फरक क्राइम थ्रिलर जनरामा ‘मास्टर्नी’ निर्माण गरिएको थियो। तर, प्रदर्शनअघि निर्माण पक्षले गरेको अपेक्षाअनुसार फिल्मले दर्शक तान्न सकेन। उल्टै फिल्ममाथि भारतीय चलचित्रको कथा तथा प्रस्तुतीकरणसँग मिलेको आरोपसमेत लागेको थियो।
बक्स अफिसमा पनि ‘मास्टर्नी’को प्रदर्शन निराशाजनक रह्यो। प्रदर्शनको सुरुवाती १७ दिनमा फिल्मले करिब ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ। प्रियंका जस्तो चर्चित अभिनेत्रीको फिल्मको व्यापार लाखमै सीमित हुनु नेपाली फिल्म बजारका लागि पनि चासोको विषय बनेको छ। कमजोर व्यापारकै कारण फिल्म लामो समयसम्म हलमा टिक्न सकेन।
उता, नायिका नीता ढुंगानाले ‘पार्वती’मार्फत निर्देशनमा डेब्यू गरिन्। लामो समयदेखि निर्देशनमा आउने इच्छा व्यक्त गर्दै आएकी नीताले अन्ततः आफ्नो पहिलो फिल्म दर्शकमाझ ल्याएकी हुन्। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा समेत रहेकी छन्।
सामाजिक तथा भावनात्मक कथावस्तुलाई आधार बनाइएको ‘पार्वती’ले सुरुवाती दिनमा केही राम्रो व्यापार गर्ने संकेत देखाए पनि त्यसलाई निरन्तरता दिन सकेन। फिल्मले सुरुवाती १० दिनमा करिब १ करोड ५८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ। ‘मास्टर्नी’को तुलनामा यो व्यापार धेरै भए पनि लगानी र अपेक्षाका आधारमा फिल्मलाई सफल मान्न सकिने अवस्था देखिएको छैन।
दर्शकको कमजोर उपस्थितिका कारण ‘पार्वती’का शोसमेत घट्दै गएका छन्। यसले फिल्मको व्यापारमा थप दबाब सिर्जना गरेको छ। यद्यपि दुई फिल्मको व्यापार तुलना गर्दा भने नीताको ‘पार्वती’ प्रियंकाको ‘मास्टर्नी’भन्दा अगाडि देखिएको छ।
दुवै अभिनेत्री नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। एक समय मुख्य भूमिकाका लागि अत्यधिक माग हुने अभिनेत्रीका रूपमा परिचित प्रियंका र नीता अहिले अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा पनि आफ्नो उपस्थिति खोजिरहेका छन्। तर, नयाँ भूमिकामा उनीहरूको पहिलो प्रयासले भने अपेक्षित व्यावसायिक सफलता दिन सकेन।
फिल्म क्षेत्रमा अभिनयबाट मेकिङतर्फ जाने क्रम पछिल्लो समय बढिरहेको छ। कलाकार स्वयं निर्माता वा निर्देशक बन्ने र आफ्नो रुचिअनुसारका विषयमा फिल्म बनाउने अभ्यास बढ्दै गएको छ। तर, पर्दामा सफल हुनु र फिल्म निर्माण वा निर्देशनमा सफल हुनु फरक चुनौती भएको ‘मास्टर्नी’ र ‘पार्वती’को परिणामले पनि देखाएको छ।
प्रियंका र नीताका लागि यी दुई फिल्म करिअरको अन्त्य नभई नयाँ यात्राको सुरुवात भने हुन सक्छन्। पहिलो प्रयासबाट आएको परिणामले उनीहरूले आगामी फिल्ममा कथा, प्रस्तुति, बजार र दर्शकको रुचिलाई अझ गम्भीर रूपमा बुझ्ने अवसर पाउनेछन्। अहिलेका लागि भने फिल्मी करिअरको नयाँ अध्याय सुरु गरेका यी दुई अभिनेत्रीलाई ‘मास्टर्नी’ र ‘पार्वती’ले सफलता दिलाउन सकेनन्।
.



