बिदा भन्दै चिन्तामणिले कानुनकै खिल्ली उडाए, बैतडीका शिक्षा प्रमुख किन डराए ?
उता ४ शिक्षकलाई कारबाही गर्न हतार, यता भने छैन कुनै सुरसार!

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुंगा माध्यमिक विद्यालय लमौताका प्रधानाध्यापक दुर्गादत्त जोशी ‘चिन्तामणि’ नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि सरकारी विद्यालयका शिक्षकको राजनीतिक संलग्नताको विषय फेरि चर्चामा आएको छ। विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापक नै राजनीतिक दलको अधिवेशनमा निर्वाचन प्रक्रिया सञ्चालन गर्ने भूमिकामा देखिएपछि उनको पदीय आचरण र शिक्षकको राजनीतिक निष्पक्षतामाथि प्रश्न उठेको हो।
तस्वीर सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि जोशीमाथि स्पष्टीकरण सोधिएको, छानबिन थालिएको वा कुनै कारबाही प्रक्रिया अघि बढाइएको आधिकारिक जानकारी बाहिर आएको छैन। यही कारण शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्नुपर्ने जिम्मेवारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ।
जेन खबरसँग कुराकानी गर्दै प्रधानाध्यापक जोशीले आफू नेपाली कांग्रेसको सक्रिय सदस्य वा संगठित कार्यकर्ता नरहेको दाबी गरेका छन्। कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउन सहयोगका लागि आग्रह गरिएपछि आफू निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको उनको भनाइ छ। उनले उक्त कार्यक्रम शनिबार भएको र विद्यालयसमेत पूर्ण रूपमा बिदा रहेकाले आफ्नो सहभागिताले विद्यालयको नियमित पठनपाठन प्रभावित नभएको बताएका छन्।
तर मुख्य प्रश्न विद्यालय खुलेको वा बन्द भएको भन्नेमा मात्रै सीमित छैन। सरकारी विद्यालयका शिक्षकले राजनीतिक दलको कार्यक्रममा कुनै जिम्मेवारी लिएर सहभागी हुन पाउने वा नपाउने भन्ने विषय शिक्षकको पदीय आचरणसँग जोडिन्छ। विद्यालय बिदा भएको दिन राजनीतिक दलको वडा अधिवेशनमा निर्वाचन अधिकृत बन्न पाइन्छ भन्ने जोशीको दाबी र प्रचलित कानुनी व्यवस्थाबीच सम्बन्धित निकायले स्पष्टता दिनुपर्ने देखिन्छ।
शिक्षा ऐन, २०२८ को दफा १६ ङ मा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउने व्यवस्था छ। ऐनले राजनीतिक दलको कार्यकारिणी समितिमा केन्द्रीयदेखि स्थानीय तहसम्मका समिति समेटिने व्यवस्था गरेको छ। त्यसैले शिक्षकको राजनीतिक भूमिकाको विषयमा सम्बन्धित निकायले घटनाको प्रकृति र उनको वास्तविक भूमिकाका आधारमा कानुनी अवस्था परीक्षण गर्नुपर्ने देखिन्छ।
यतिबेला देशभर शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी बढाइएको छ। शिक्षा मन्त्रालयले समेत राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन दिँदै विद्यालयमा शिक्षकको राजनीतिक गतिविधि निगरानी गर्न आग्रह गरेको छ। त्यसैको पृष्ठभूमिमा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भन्दै चार जना शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई सिफारिस गरेको छ।
सिन्धुलीमा ज्ञानकुञ्ज माध्यमिक विद्यालय पचरुखीका प्रेमप्रसाद भट्टराई, कुशेश्वर विद्यापीठ दुम्जाका सर्वेश्वर कोइराला, माध्यमिक विद्यालय लाप्पनबतासेका अर्जुनकुमार गौतम र आधारभूत विद्यालय लंगुरडाँडाका यतिराज तिमल्सिनामाथि कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिएको हो। उनीहरू नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको समयमा राजनीतिक दलको कार्यक्रममा सहभागी भएको देखिएको र उनीहरूको आचरण शिक्षा नियमावली, २०५९ मा उल्लेखित व्यवस्थाविपरीत भएको भन्दै प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको पत्रमा उल्लेख छ।
अर्थात्, राजनीतिक दलको कार्यक्रममा शिक्षक सहभागी भएको विषयमा सिन्धुलीमा सम्बन्धित इकाईले कारबाहीका लागि स्थानीय तहलाई औपचारिक रूपमा पत्राचार गरिसकेको अवस्थामा बैतडीको घटना झन् चासोको विषय बनेको छ। एउटै प्रकृतिको विषयमा जिल्लाअनुसार फरक व्यवहार हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको छ।
बैतडीको शिक्षा विकास तथा समन्वय इकाईले यसअघि नै जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए/नभएको निगरानी गर्न निर्देशन दिएको थियो। सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट केही शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी आएको भन्दै नियमविपरीत गतिविधि पाइए कानुनबमोजिम आवश्यक कारबाही गर्न इकाईले स्थानीय तहलाई आग्रह गरेको थियो।
तर आफ्नै जिल्लामा सोही निर्देशनको केही समयपछि प्रधानाध्यापक नै राजनीतिक दलको वडा अधिवेशनमा निर्वाचन अधिकृत बनेको तस्वीर सार्वजनिक हुँदा इकाईको अबको कदम के हुन्छ भन्ने प्रश्न उठेको छ। यस विषयमा आधिकारिक धारणा लिन जेन खबरले शिक्षा विकास तथा समन्वय इकाई बैतडीका एकाइ प्रमुख दशरथ भट्टसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरेको थियो। तीन पटक फोन गर्दा पनि उनले फोन उठाएनन्। त्यसपछि म्यासेजमार्फत समेत घटनाबारे प्रतिक्रिया मागिएको थियो। तर उनको तर्फबाट कुनै जवाफ प्राप्त भएन।
यता प्रधानाध्यापक जोशीले आफू सक्रिय पार्टी सदस्य नरहेको र विद्यालय बिदाको दिन आग्रहपछि निर्वाचनसम्बन्धी प्राविधिक जिम्मेवारी मात्र पूरा गरेको बताएका छन्। त्यसैले उनको राजनीतिक आबद्धता, अधिवेशनमा निर्वाह गरेको भूमिका र शिक्षक आचरणसम्बन्धी कानुनी व्यवस्थाले उक्त गतिविधिलाई कसरी हेर्छ भन्ने विषयमा सम्बन्धित निकायबाट छानबिन र स्पष्ट निर्णय आवश्यक देखिन्छ।
सिन्धुलीमा राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही सिफारिस भइसकेको र बैतडीमै शिक्षकको राजनीतिक गतिविधि निगरानी गर्न स्थानीय तहलाई निर्देशन दिइएको अवस्थामा अब चिन्तामणिको हकमा शिक्षा निकायले के कदम चाल्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।


