विवादित प्रअ जोशीमाथि कारबाहीको तयारी, कांग्रेस अधिवेशन पर्‍यो भारी!

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुंगा माध्यमिक विद्यालय लमौताका प्रधानाध्यापक दुर्गादत्त जोशी ‘चिन्तामणि’ माथि राजनीतिक दलको कार्यक्रममा निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको विषयमा कारबाही प्रक्रिया अघि बढ्ने भएको छ । नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय इकाई बैतडीले घटनाबारे स्थानीय तहसँग जानकारी माग्दै कानुनअनुसार कारबाही गर्ने तयारी गरेको हो ।

प्रधानाध्यापक जोशी गत शनिबार नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्वीर सार्वजनिक भएपछि सरकारी विद्यालयका प्रधानाध्यापक राजनीतिक दलको कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । उनीमाथि कारबाही गर्नुपर्ने मागसमेत उठेको छ ।

जेन खबरसँग कुराकानी गर्दै शिक्षा विकास तथा समन्वय इकाई बैतडीका इकाई प्रमुख दशरथ भट्टले तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तहलाई पत्राचार गरिएको बताए । स्थानीय तहबाट घटनाबारे आधिकारिक जानकारी प्राप्त भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

भट्टले भने, ‘सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि हामीले स्थानीय तहलाई पत्राचार गरेका छौँ । घटनाबारे जानकारी आएपछि कानुनअनुसार कारबाही गर्छौँ ।’

उनका अनुसार शिक्षक तथा विद्यालयका कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भएको विषयमा सम्बन्धित निकायले आवश्यक निगरानी र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ । सोहीअनुसार जोशीको घटनाबारे पनि स्थानीय तहबाट आवश्यक विवरण लिएर प्रक्रिया अगाडि बढाइने इकाईको भनाइ छ ।

यता प्रधानाध्यापक जोशीले भने आफू नेपाली कांग्रेसको सक्रिय सदस्य वा संगठित कार्यकर्ता नरहेको दाबी गरेका छन् । कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउन सहयोगका लागि आग्रह गरिएपछि आफू निर्वाचन अधिकृतको भूमिकामा सहभागी भएको उनको भनाइ छ ।

जेन खबरसँग कुराकानी गर्दै जोशीले आफू पार्टीको सक्रिय राजनीतिक गतिविधिमा संलग्न नभएको दाबी गर्दै अधिवेशन सम्पन्न गराउने क्रममा सहयोगका लागि मात्र निर्वाचन अधिकृतको जिम्मेवारीमा सहभागी भएको बताए । उक्त कार्यक्रम शनिबार भएको र विद्यालयसमेत पूर्ण रूपमा बिदा रहेको भन्दै उनले आफ्नो सहभागिताका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित नभएको बताएका छन् ।

जोशीको दाबीअनुसार आफूले विद्यालयको नियमित काम प्रभावित हुने गरी राजनीतिक गतिविधिमा सहभागिता जनाएको होइन । बिदाको दिन भएको कार्यक्रम भएकाले विद्यालयको शैक्षिक गतिविधिमा कुनै असर नपरेको उनको भनाइ छ ।

तर, शिक्षक तथा प्रधानाध्यापकलाई राजनीतिक दलका गतिविधिबाट टाढा राख्ने विषयमा शिक्षा क्षेत्रका निकायले पछिल्लो समय निगरानी बढाएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षक तथा कर्मचारीमाथि कारबाही गर्ने नीति अघि सारेको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सार्वजनिक हुन थालेपछि त्यस्ता गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका छन् । उनले देशभरका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक गतिविधिबारे निगरानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शिक्षकको मुख्य जिम्मेवारी विद्यालयमा नियमित पठनपाठन गराउने र विद्यार्थीको शैक्षिक गतिविधिमा केन्द्रित हुने भएकाले राजनीतिक दलका कार्यक्रममा उनीहरूको सक्रिय सहभागिताको विषय संवेदनशील मानिन्छ । यही विषयलाई आधार बनाएर शिक्षा विकास तथा समन्वय इकाई, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई समेत निर्देशन दिएको छ ।

इकाईले जिल्लाका स्थानीय तहलाई विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भए–नभएको विषयमा निगरानी गर्न र त्यस्तो गतिविधि देखिएमा आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button