दशैंमा तात्दैछ ठुलखाली मैदान, भलिबलमा २५ हजार पुरस्कार

दार्चुला । बडादशैं–२०८३ को अवसरमा दार्चुलाको लेकम गाउँपालिका–६ स्थित ठुलखाली खेलमैदानमा टोलस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। मालिकार्जुन भैरवनाथ खेलकुद विकास समितिको आयोजनामा यही असोज २२ र २३ गते सिरोडास्थित ठुलखाली खेलमैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगितामा पुरुषतर्फ खुला भलिबल र महिलातर्फ बम ब्लास्ट खेल समावेश गरिएको छ। दशैंको अवसरमा स्थानीय युवालाई खेलकुदमा सहभागी गराउने, आपसी भाइचारा बढाउने र गाउँमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको पुरुष भलिबलतर्फ प्रथम हुने टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टोलीले १२ हजार र तेस्रो हुने टोलीले ६ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

महिलातर्फको बम ब्लास्ट प्रतियोगितामा प्रथम हुने टोलीलाई २ हजार ५०० रुपैयाँ, दोस्रोलाई १ हजार ५०० रुपैयाँ र तेस्रो हुने टोलीलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टोलीलाई प्रमाणपत्रसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

मालिकार्जुन भैरवनाथ खेलकुद विकास समितिका अध्यक्ष अमर खत्रीको नेतृत्वमा प्रतियोगिता आयोजना हुन लागेको हो। स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्दै युवाको प्रतिभा पहिचान गर्ने र खेलमार्फत सामाजिक सद्भाव कायम गर्ने लक्ष्य आयोजकले लिएको छ।

प्रतियोगितामा लेकम गाउँपालिका–६ अन्तर्गतका टोलका खेलाडी तथा टोलीले मात्र सहभागिता जनाउन पाउनेछन्। पुरुष भलिबलमा सहभागी हुन इच्छुक टोलीले असोज २१ गतेभित्र ५०० रुपैयाँ दर्ता शुल्क बुझाएर नाम दर्ता गराउनुपर्नेछ।

दशैंको उल्लाससँगै आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। असोज २२ र २३ गते ठुलखाली मैदानमा हुने प्रतिस्पर्धामा कुन टोलीले २५ हजार रुपैयाँसहितको ट्रफी उचाल्नेछ भन्ने चासो बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button