अब खल्तीले ठग्न पाउने छैन दर्शक, इसेवाले हुरुक्क बनाउनेछ समर्थक!
सुरुमा दर्शकमाथि गर्यो घात, त्यसपछि क्यानले हान्यो लात!

काठमाडौँ । एनपीएल हेर्न टिकट काट्ने दर्शकलाई अब पुरानै सास्ती दोहोरिएला कि भन्ने चिन्ता छ भने त्यसमा ठूलो परिवर्तन आएको छ। अघिल्ला दुई संस्करणमा टिकट काट्ने क्रममा सर्भरको समस्या, पैसा काटिएपछि टिकट नआउने, टिकट हातमा भए पनि मैदान प्रवेशमा झन्झट हुनेदेखि गलत विवरण भएको टिकटसम्मका विषयले विवाद जन्माएको खल्ती यसपटक एनपीएलको टिकटिङबाट बाहिरिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको टिकट बिक्री तथा व्यवस्थापनको जिम्मेवारी इसेवा लिमिटेडलाई दिएको छ। एनपीएलको तेस्रो संस्करणमा टिकटिङको जिम्मेवारी पाएको इसेवाले ८५ लाख रुपैयाँमा अधिकार लिएको हो। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत हिस्सा क्यानलाई जानेछ। अब एनपीएल–३ का खेलको टिकट बिक्री, अनलाइन बुकिङ, भुक्तानीदेखि टिकट व्यवस्थापनसम्मको जिम्मेवारी इसेवाको काँधमा आएको छ।
यो परिवर्तन त्यत्तिकै भएको भने होइन। एनपीएलका अघिल्ला दुई संस्करणमा टिकट व्यवस्थापनलाई लिएर पटक–पटक प्रश्न उठेका थिए। दर्शकले टिकट काट्ने बेलामै सास्ती पाएको, पैसा तिरेपछि टिकट नपाएको र टिकट लिएर मैदान पुगेपछि पनि प्रवेशका लागि लामो लाइन तथा झन्झट बेहोर्नुपरेको गुनासो गरेका थिए। सामाजिक सञ्जालमा समेत समर्थकले आफ्नो असन्तुष्टि खुलेर पोखेका थिए।
पहिलो संस्करणमा देखिएका कमजोरी दोस्रो संस्करणमा नदोहोरिने अपेक्षा थियो। तर दोस्रो संस्करणमा पनि टिकट बुकिङदेखि मैदान प्रवेशसम्मका गुनासा रोकिएनन्। कतिपय दर्शकले पैसा काटिए पनि टिकट नआएको गुनासो गरे भने कतिपयले टिकट व्यवस्थापनकै कारण खेल हेर्न समस्या भएको बताएका थिए। एउटै प्रकृतिका समस्या दोहोरिँदै गएपछि खल्तीको टिकट व्यवस्थापनमाथि समर्थकको प्रश्न झन् चर्कियो।
त्यसैबीच २०८३ साल जेठ २ गते भएको एउटा घटनाले टिकटिङ व्यवस्थापनको विषयलाई झन् गम्भीर बनायो। नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक एकदिवसीय सिरिज चलिरहेका बेला नेपाली टोलीको खेल हेर्न समर्थकले खल्तीमार्फत २०० रुपैयाँ तिरेर टिकट खरिद गरेका थिए। तर मैदान पुगेपछि केही समर्थकको हातमा परेको टिकटमा त्यस दिन भइरहेको खेलको विवरण नभई नेपाल र यूएईबीच भएको पुरानो टी–२० सिरिजको विवरण उल्लेख भएको भेटिएको थियो।
अझ अर्को प्रश्न उठाउने विषय थियो—२०० रुपैयाँ तिरेर खरिद गरिएको टिकटमा ७५० रुपैयाँ मूल्य छापिएको थियो। पुरानो मिति, अर्कै खेलको विवरण र फरक मूल्य भएको टिकट दर्शकको हातमा पुगेपछि स्वाभाविक रूपमा प्रश्न उठ्यो। खेल हेर्न पैसा तिरेर टिकट काटेका समर्थकले मैदानमै पुगेपछि आफूले खरिद गरेको टिकट नै फरक विवरणको पाउनु व्यवस्थापनको गम्भीर कमजोरीका रूपमा चर्चा भयो।
त्यो घटनालाई जेन खबरले प्रमाणसहित उठाएको थियो। सम्बन्धित पक्षसँग प्रत्यक्ष कुराकानीसमेत गरेको थियो। क्यानका तत्कालीन प्रवक्ता छुम्बी लामाले टिकटमा गल्ती भएको स्वीकार गरेका थिए। खल्तीका मुख्य सञ्चालन अधिकृत पुष्पराज न्यौपानेले पनि घटनाबारे स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने बताएका थिए।
यही विषयमा समाचार नलेख्न खल्तीकै एक महिला कर्मचारीले जेन खबरलाई धम्कीसमेत दिएकी थिइन्। त्यसपछि टिकट व्यवस्थापनसँग सम्बन्धित विषय राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्म पुग्यो। टिकटमा गलत विवरण भेटिएको, दर्शकले समस्या भोग्नुपरेको तथा टिकट बिक्री र मैदान प्रवेश व्यवस्थापनमा कमजोरी भएको विषयमा राखेपमा उजुरीसमेत परेको थियो।
यतिसम्मका घटनापछि पनि एनपीएलको तेस्रो संस्करणमा टिकट व्यवस्थापन सुधार गर्ने दाबी खल्तीका एक उच्च अधिकारीले जेन खबरसँग गरेका थिए। अघिल्ला दुई संस्करणका कमजोरीबाट पाठ सिकिएको, अब टिकट काट्नेदेखि मैदान प्रवेशसम्म दर्शकलाई सहज बनाइने र विगतका समस्या दोहोरिन नदिइने दाबी ती अधिकारीले गरेका थिए।
तर तेस्रो संस्करण आउँदा तस्वीर नै बदलिएको छ। राम्रो व्यवस्थापन गर्ने दाबी गरिरहेको खल्ती नै एनपीएलको टिकटिङबाट बाहिरिएको छ। क्यानले यसपटक टिकट बिक्री तथा व्यवस्थापनको जिम्मेवारी इसेवालाई दिएको छ। अर्थात्, अघिल्ला दुई संस्करणमा विवाद र गुनासोको केन्द्र बनेको टिकटिङ जिम्मेवारी अब नयाँ कम्पनीको हातमा पुगेको छ।
अब समर्थकको नजर इसेवामाथि छ। डिजिटल भुक्तानी तथा अनलाइन सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय इसेवाले एनपीएलको टिकटिङ कति सहज बनाउँछ भन्ने चासो बढेको छ। समर्थकले यसपटक विगतको जस्तो टिकट काट्दा सर्भर डाउन हुने अवस्था नआओस्, पैसा काटिएपछि टिकट नहराओस्, गलत खेलको विवरण भएको टिकट हातमा नपरोस् र टिकट बोकेर मैदान पुग्दा गेटमै समस्या नआओस् भन्ने अपेक्षा गरेका छन्।
इसेवाका लागि पनि यो सामान्य जिम्मेवारी भने होइन। एनपीएलको लोकप्रियता प्रत्येक संस्करणसँग बढिरहेको छ। एकैपटक ठूलो संख्यामा समर्थकले टिकट काट्ने भएकाले अनलाइन प्रणालीको क्षमता बलियो हुनुपर्छ। भुक्तानी प्रणालीदेखि टिकट प्राप्ति, टिकट प्रमाणीकरण र मैदान प्रवेशसम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थित बनाउनुपर्नेछ।
त्यसमाथि यसपटक एनपीएलमा विश्व क्रिकेटका चर्चित खेलाडी डेभिड वार्नर आउने भएपछि समर्थकको उत्साह अझ चुलिएको छ। गाउँका चिया पसलदेखि सहरका क्याफेसम्म एनपीएलको चर्चा छ। वार्नरको ब्याटिङ प्रत्यक्ष हेर्न समर्थक आतुर छन्। यस्तो अवस्थामा टिकटको माग पनि उच्च हुने भएकाले टिकटिङ व्यवस्थापनमा इसेवाको परीक्षा अझ ठूलो हुनेछ।
एनपीएलको तेस्रो संस्करण २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् २०८३ कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता सुरु हुनुअघि नै टिकटिङ कम्पनी परिवर्तन भएपछि समर्थकमा पनि चासो बढेको छ।
अब खेल हेर्न मैदान जाने समर्थकले एउटा कुरा चाहेका छन्—टिकट काटेपछि टिकटको तनाव होइन, खेलको उत्साह होस्। पैसा तिरेपछि टिकट नआउने समस्या नहोस्। हातमा टिकट भएपछि मैदानको गेटमा रोकिएर अपमानित हुन नपरोस्। टिकटमा खेल नै अर्कै लेखिएको अवस्था फेरि नआओस्।
अघिल्ला दुई संस्करणको टिकटिङलाई लिएर उठेका प्रश्न र विवादपछि क्यानले यसपटक इसेवालाई जिम्मेवारी दिएको छ। खल्ती बाहिरिएसँगै एनपीएलको टिकटिङमा नयाँ कम्पनीको प्रवेश भएको छ। अब इसेवाले यो जिम्मेवारीलाई कति प्रभावकारी रूपमा पूरा गर्छ भन्ने कुरा एनपीएल सुरु भएपछि देखिनेछ।
तर अहिलेका लागि भने समर्थकले पुरानो झन्झटको ठाउँमा नयाँ आशा राखेका छन्। खल्तीको टिकटिङ अध्याय सकिएपछि इसेवाको काँधमा आएको नयाँ जिम्मेवारीले एनपीएलका दर्शकलाई सहज अनुभव दिने अपेक्षा गरिएको छ।
एनपीएलमा यसपटक वार्नरको ब्याट चल्नेछ, नेपाली खेलाडीको जोश देखिनेछ, मैदानमा चौका–छक्काको वर्षा हुनेछ। त्यससँगै टिकट किन्नेदेखि मैदान छिर्नेसम्म पनि समर्थकले उस्तै उत्साह महसुस गर्न चाहेका छन्। अब टिकट काटेर पैसा कहाँ गयो भन्ने चिन्ता होइन, टिकट काटेर कुन खेलाडीको छक्का हेर्ने भन्ने उत्साह हुनुपर्छ।
अघिल्ला दुई संस्करणमा टिकटिङ व्यवस्थापनलाई लिएर उठेका विवादपछि खल्ती बाहिरिएको अवस्थामा अब इसेवाको काँधमा ठूलो जिम्मेवारी आएको छ। समर्थकले पनि यही अपेक्षा गरेका छन्—यसपटक टिकटिङले खेलको मजा बिगार्ने होइन, खेल हेर्ने उत्साह अझ बढाउने काम गरोस्।
अब खल्तीले एनपीएलको टिकटिङमा पुरानै शैली दोहोर्याउने मौका पाएको छैन। जिम्मेवारी इसेवाको हातमा पुगेको छ। दर्शकको विश्वास जित्ने अवसर पनि इसेवाकै अगाडि छ। एनपीएल–३ मा खेल कति रोमाञ्चक हुन्छ भन्ने मैदानले देखाउनेछ, तर टिकटिङ कति सहज हुन्छ भन्ने परीक्षा अब इसेवाले दिनुपर्नेछ।
खल्ती प्रकरणमा जेन खबरका खोजमूलक समाचार शृंखला:
दर्शक ठग्ने खल्ती, गल्ती सच्याउनुको सट्टा उल्टै दिन्छ धम्की!
एनपीएलबाटै आउट भयो खल्ती, २ सिजनमा गरेको थियो ठूलो गल्ती!


