तीज गीतले ततायो बजार, श्रोताको नजर अझै विष्णु माझीतिरै!

काठमाडौं । हरितालिका तीज आउन अझै करिब दुई महिना बाँकी रहँदा नेपाली सांगीतिक बजार भने अहिलेदेखि नै तीजमय बनेको छ। नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक पर्वका रूपमा स्थापित तीज अब केवल केही दिनको उत्सवमा सीमित छैन। पछिल्ला वर्षहरूमा तीज गीतको माध्यमबाट यसको सांगीतिक माहोल महिनौँ अघिदेखि नै सुरु हुने गरेको छ। यस वर्ष पनि असार महिनाको सुरुवातसँगै युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरूमा तीज लक्षित गीतहरू सार्वजनिक हुने क्रम तीव्र बनेको छ।

अहिले नै बजारमा तीन दर्जनभन्दा बढी तीज गीतहरू सार्वजनिक भइसकेका छन् भने दैनिक रूपमा नयाँ सिर्जनाहरू थपिँदै गइरहेका छन्। कलाकारहरूबीच आफ्ना गीतलाई दर्शकमाझ पु¥याउने प्रतिस्पर्धा बढेको छ भने संगीतप्रेमीहरू पनि नयाँ–नयाँ तीज गीतको प्रतीक्षामा छन्। लोकदोहोरी क्षेत्रका स्थापित कलाकारदेखि नयाँ पुस्ताका गायक–गायिकासम्मले यस वर्षको तीजलाई लक्षित गर्दै आफ्ना सिर्जना सार्वजनिक गरिरहेका छन्।

तीज गीत सार्वजनिक गर्ने दौडमा यस वर्ष पनि लोकप्रिय लोकगायक खुमन अधिकारी अग्रस्थानमा देखिएका छन्। उनले असार १७ गते नै ‘तीज चाड’ बोलको गीत सार्वजनिक गर्दै यस वर्षको तीज सांगीतिक यात्राको सुरुवात गरेका थिए। दुर्गा पौडेलको शब्द रहेको उक्त गीतमा खुमन अधिकारीकै संगीत रहेको छ। गीतमा खुमनसँगै शान्तिश्री परियार, समीक्षा अधिकारी, शिला आले, टीका पुन, राधिका हमाल, पूर्णकला बीसीलगायत करिब २२ जना चर्चित गायिकाको स्वर समावेश छ। बहुसंख्यक कलाकारको सहभागिता रहेको ‘तीज चाड’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। युट्युबमा समेत यस गीतले लाखौँ भ्युज बटुलिसकेको छ। यसबाहेक खुमन अधिकारीले यस वर्ष अन्य तीनवटा तीज गीत पनि सार्वजनिक गरिसकेका छन्। शान्तिश्री परियारसँगको सहकार्यमा आएको ‘करिमैले जहाँ लान्छ उहीँ जाउँला’, ‘फूल देवीलाई, जोबान बेबिलाई’ र ‘अब होला केही’ जस्ता गीतमार्फत उनले तीज सांगीतिक माहोललाई थप सक्रिय बनाएका छन्।

खुमनसँगै लोकगायक पशुपति शर्मा पनि यस वर्ष तीज गीतमार्फत चर्चामा छन्। पशुपति शर्मा, खेम सेन्चुरी र शान्तिश्री परियारको स्वर रहेको ‘फेरि आयो तीज’ ले बजारमा राम्रो चर्चा पाइरहेको छ। सामाजिक विषयवस्तु, मनोरञ्जन र जनजीवनका कथालाई गीतमार्फत प्रस्तुत गर्न माहिर पशुपतिले यस वर्ष ‘हाम्ले माया लाउने होइन र?’ र ‘कर्म घरलाई खुशी दिएर’ जस्ता सिर्जना पनि सार्वजनिक गरेका छन्। यता, महिला कलाकारतर्फ पनि यस वर्षको तीजमा निकै उत्साह देखिएको छ। युवा पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानले तीज गीतको क्षेत्रमा यस वर्ष विशेष सक्रियता देखाएकी छन्। आफ्नै लगानीमा सार्वजनिक गरेको ‘नौरती फुली’ बोलको गीतले बजारमा राम्रो प्रभाव जमाएको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतमा एलिनासँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर सुन्न सकिन्छ।

चेली र माइतीबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको ‘नौरती फुली’ ले दर्शकको मन जित्न सफल भएको छ। सार्वजनिक भएको केही समयमै यस गीतले युट्युबमा १० लाखभन्दा बढी भ्युज पार गरिसकेको छ। एलिनाले यस वर्ष मात्रै दुई दर्जनभन्दा बढी तीज गीतमा स्वर दिइसकेकी छन्। सामान्यतया हरेक वर्ष धेरै संख्यामा गीत गाउने एलिना यस वर्षको तीजमा सबैभन्दा व्यस्त गायिकामध्ये एक बनेकी छन्।
एलिनाको लोकप्रियता केवल गीतसंगीतमा मात्र सीमित छैन। पछिल्लो समय उनले व्यवसायिक क्षेत्रमा समेत आफ्नो उपस्थिति विस्तार गरेकी छन्। सांगीतिक यात्रासँगै फेसन व्यवसायमा समेत सक्रिय बनेकी एलिनाले आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरिरहेकी छन्।

यसैगरी गायिका भूमिका गिरीको लगानीमा तयार भएको ‘दिम कि नदिम’ बोलको गीतले पनि डिजिटल प्लेटफर्ममा राम्रो चर्चा पाइरहेको छ। ऋषि खड्काको शब्द तथा संगीत रहेको उक्त गीतलाई दर्शकहरूले निकै रुचाएका छन्। युट्युबमा लाखौँ दर्शकले हेरेको यो गीत टिकटकसहित सामाजिक सञ्जालमा समेत लोकप्रिय बनेको छ। कृष क्षेत्री र समीक्षा अधिकारीको स्वर रहेको ‘एकबारको जिन्दगानीमा’ पनि यस वर्षको तीज गीतमध्ये चर्चित बनेको छ। जीवनलाई सकारात्मक रूपमा हेर्नुपर्ने सन्देश बोकेको उक्त गीतमा कृष क्षेत्रीकै शब्द तथा संगीत रहेको छ भने खेमराज गौतमले एरेन्ज गरेका छन्। त्यस्तै, एलिना चौहानकै स्वर रहेको ‘महादेव, खालि भयो जेब’ ले पनि फरक शैलीका कारण दर्शकको ध्यान खिचेको छ। यस वर्षको तीजमा अस्मिता डल्लाकोटी, शर्मिला बर्देवा, कालीप्रसाद बास्कोटालगायत कलाकारहरूले पनि नयाँ स्वादका सिर्जना प्रस्तुत गरेका छन्। अस्मिता डल्लाकोटीको ‘नाच्न गाउँन हो’ गीतमा अस्मिता र हरि गिरी विमर्सीको स्वर रहेको छ। लामो सांगीतिक यात्रा तय गरेकी वरिष्ठ गायिका शर्मिला बर्देवाले पहिलो पटक तीज गीत ‘शिरैमा शिरफूल’ सार्वजनिक गरेकी छन्। यस्तै, कालीप्रसाद बास्कोटाले आधुनिक शैलीमा तयार गरेको ‘तीजको रन्को’ ले पनि नयाँ पुस्ताका श्रोतालाई आकर्षित गरेको छ।

तीज गीतमा मनोरञ्जनसँगै सामाजिक कथा र भावनात्मक पक्षलाई समेट्ने क्रम पनि यस वर्ष देखिएको छ। ‘बुढी आमा दिदीभाइ’ गीतले विदेशिएका परिवारका सदस्य र चाडपर्वमा महसुस हुने अभावलाई प्रस्तुत गरेको छ। पुरुषोत्तम पौडेल, देवी घर्ती र कमला पोखरेलको स्वर रहेको उक्त गीतले पारिवारिक सम्बन्धको संवेदनालाई उजागर गरेको छ। त्यस्तै, अञ्जिता विश्वकर्माको स्वरमा रहेको ‘पराईको शासन’ ले नेपाली समाजमा अझै रहेका छोरी र बुहारीका पीडा तथा संघर्षका कथालाई प्रस्तुत गरेको छ। यस गीतले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।यसबीच बजारमा ‘साइली’, ‘सासुको शासन’, ‘माइतको आँगन’, ‘सुनको चुरा औँठी नि सुनकै’, ‘बर्खे झरीमा’, ‘वरिलै’, ‘राम्री देखिन्छु’, ‘भरिएको जोवन’, ‘तीज आयो बरिलै’, ‘लालु मै’, ‘चलेको साडी’, ‘चेली रुवाउने तीज’ र ‘उठौं चेली भाग–२’ लगायतका धेरै गीत सार्वजनिक भइसकेका छन्।
तर, हरेक वर्ष तीजको सांगीतिक बजारमा एउटा नामको प्रतीक्षा भने विशेष हुने गर्छ। त्यो नाम हो गायिका विष्णु माझी। लामो समयदेखि सार्वजनिक जीवनबाट टाढा रहेकी विष्णु माझीले तीज तथा दसैँको अवसर पारेर मात्र आफ्ना गीत सार्वजनिक गर्ने गरेकी छन्। उनका गीतहरू सार्वजनिक भएपछि मात्रै तीज आएको अनुभूति हुने गरेको धेरै श्रोताहरूको भनाइ छ। गत वर्ष ‘पुतलीको भट्टी भाग–२१’ अन्तर्गत ‘म त नराउरी’ गीत सार्वजनिक गरेकी विष्णु माझी यस वर्ष भने फरक कारणले चर्चामा आइन्। उनले बाबुकृष्ण परियारसँगको सहकार्यमा ‘झोर्ले हजुर’ बोलको गीत सार्वजनिक गरेकी छन्। लामो समयपछि आफ्नै ‘सपना म्युजिक इन्डस्ट्रिज’ को ब्यानरबाहिर उनले स्वर दिएको यो पहिलो गीतका रूपमा यसलाई हेरिएको छ।

विष्णु माझीको आगमनले तीज गीतको बजारमा थप उत्सुकता बढाएको छ। यद्यपि विगतका उनका चर्चित गीतजस्तो यस गीतले अपेक्षित तहको चर्चा पाउन नसकेको प्रतिक्रिया केही दर्शकले दिएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button