‘हेलो, साथी हो! ओ, छाता ओढेका साथीहरू!’

काठमाडौँ । सामाजिक सञ्जाल खोल्दा तपाईंको मोबाइलमा पनि एउटा भिडियो अवश्य आएको होला। पानी परिरहेको मौसममा रेनकोट ओढेर उकालो हिँडिरहेका तीन जना बच्चाहरूको भिडियो अहिले सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेको छ। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका, एकनासका देखिने यी बच्चाहरू आफ्नै सुरमा उकालो बाटो हिँडिरहेको यो भिडियोले लाखौँ मानिसको ध्यान खिचेको छ।
भिडियोमा ‘हलो साथी हो, ओ ! छाता ओढेका साथीहरू’ भनेर उनीहरूलाई बोलाएको सुनिन्छ। तर, त्यसलाई पूर्ण रूपमा बेवास्ता गर्दै ती बच्चाहरू आफ्नै धुनमा उकालो उक्लिरहन्छन्। त्यही बीचमा एकजना व्यक्ति मोटरसाइकल लिएर ओरालो झरेको देखिन्छ भने भिडियो खिच्ने व्यक्तिले ‘कहाँ जाँदैछौ?’ भनेर सोधेको पनि सुनिन्छ। १७ सेकेन्डको यो छोटो भिडियो अहिले फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा आँधीबेरीझैँ फैलिएको छ। फेसबुकमा मात्रै यो भिडियोले करोडौँ भ्युज, १० हजारभन्दा बढी कमेन्ट, ५ हजारभन्दा धेरै सेयर र ७ लाख ७० हजारभन्दा बढी रियाक्ट पािसकेको छ।
आखिर कहाँको हो त यो भिडियो र कसले खिचेको हो त?
यो भिडियो रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ सुर्पाल भन्ने ठाउँको हो। र, यो भिडियो खिचेका हुन् स्थानीय लोकेन्द्र पुनले—जसले फेसबुकमा आफ्नो नाम ‘लोकेन पुन’ राखेका छन्। सुर्पालको टंक सुपारी स्मृति प्रतिक्षालयबाट उनले यो भिडियो खिचेका थिए।
यो ठाउँ सुर्पाल बजार, होलेरी हुँदै घोराही र मसिना हुँदै प्युठानको स्वर्गद्वारी जाने मुख्य बाटोमा पर्दछ। माइत आएकी आफ्नी दिदीलाई घोराही पठाउनका लागि बस कुरेर बसिरहेका बेला लोकेन्द्रले यो सुन्दर दृश्य आफ्नो क्यामेरामा कैद गरेका थिए। लोकेन्द्र भन्छन्— मेरी दिदीको घर घोराही हो, उहाँलाई पठाउन बस चढ्ने ठाउँसम्म आएको थिएँ। पानी परिरहेकाले हामी प्रतिक्षालयमा बसिरहेका थियौँ। त्यही बेला प्लास्टिक ओढेर तीन जना बच्चा आइरहेको देखेँ। झरीको बेला मायालु बच्चाहरू स्कुल गइरहेको देखेर भिडियो खिचेर फेसबुकमा हालेको थिएँ, तर सबैले यति धेरै मन पराउनुहोला भनेर सोचेको थिएनँ।
यो भिडियोमा कमेन्ट गर्ने अधिकांशले बच्चाहरूलाई अत्यन्तै ‘क्युट’ भन्दै आफ्नो बाल्यकालको याद ताजा भएको बताएका छन्। कतिपयले त यसलाई बलिउड फिल्म ‘कोई मिल गया’ को प्रसिद्ध पात्र ‘जादू’ सँग दाँजेर निकै रमाइलो टिप्पणीसमेत गरेका छन्। दर्शकहरूले लगातार ती बच्चाहरूको अनुहार हेर्ने इच्छा व्यक्त गरेपछि र उनीहरूसँग कुराकानी गर्न आग्रह गरेपछि लोकेन्द्रले अर्को नयाँ भिडियो सार्वजनिक गरेका छन्। खासमा ती भाइरल बालिका हुन्। रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ सुर्पालकै स्थानीय उनीहरू सुर्पाल बजारमा रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत छन्। उनीहरूमध्ये दुई जना एकै घरका दिदीबहिनी हुन् भने एकजना उनीहरूका छिमेकी हुन्। उनीहरू सधैँ यसरी नै सँगसँगै स्कुल आउजाउ गर्ने गर्दछन्। सामाजिक सञ्जाल प्रयोगकर्ताको तीव्र मागपछि लोकेन्द्रले फेरि त्यही प्रतिक्षालयमा कुरेर बसेर उनीहरूको अनुहार स्पष्ट देखिने गरी नयाँ भिडियो खिचेर पोष्ट गरेका छन्।
रोल्पाको यो साधारण गाउँको असाधारण र मर्मस्पर्शी दृश्यले अहिले सिङ्गो देशको ध्यान खिचेको छ र सबैको मुहारमा एक मीठो मुस्कान ल्याइदिएको छ। यसरी सामाजिक सञ्जालमा आएको एउटा सामान्य र सानो भिडियोले कसरी गाउँका अबोध बालबालिकालाई रातारात चर्चाको शिखरमा पु¥याउन सक्छ भन्ने गतिलो उदाहरण यो घटना बनेको छ।



