एनपीएलबाटै आउट भयो खल्ती, २ सिजनमा गरेको थियो ठूलो गल्ती!
इसेवाको सेवा देखेर दर्शक ढुक्क, टिकट काट्न किन भए हुरुक्क ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा टिकट बिक्री तथा व्यवस्थापनको जिम्मेवारी इसेवा लिमिटेडले पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको विवरणअनुसार इसेवाले एनपीएल–३ को टिकटिङ अधिकार ८५ लाख रुपैयाँमा प्राप्त गरेको हो। सम्झौताअनुसार इसेवाले टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत हिस्सा क्यानलाई प्रदान गर्नेछ। यससँगै एनपीएल–३ का खेलहरूको टिकट बिक्री, अनलाइन बुकिङ, भुक्तानी तथा व्यवस्थापन अब इसेवामार्फत हुने भएको छ।
इसेवाले टिकटिङ अधिकार पाएसँगै अघिल्ला दुई संस्करणमा टिकट व्यवस्थापन गर्दै आएको खल्ती भने यसपटक एनपीएलको टिकटिङबाट बाहिरिएको छ। एनपीएलको पहिलो र दोस्रो संस्करणमा टिकट व्यवस्थापनका क्रममा देखिएका समस्या र त्यसपछि उत्पन्न विवादका कारण खल्तीको भूमिकामाथि पटक–पटक प्रश्न उठ्दै आएको थियो। अहिले तेस्रो संस्करणमा आइपुग्दा क्यानले टिकट व्यवस्थापनको जिम्मेवारी खल्तीलाई नदिएर इसेवालाई दिएको हो।
एनपीएलको पहिलो संस्करणमै टिकट बुकिङ र मैदान प्रवेश व्यवस्थापनलाई लिएर दर्शकले समस्या भोग्नुपरेको थियो। अनलाइनबाट टिकट काट्ने समयमा सर्भर डाउन हुने, टिकट खरिद गर्न समस्या आउने, भुक्तानी प्रक्रिया पूरा भए पनि टिकट प्राप्त नहुने तथा टिकट काटेर मैदान पुगेपछि लामो लाइनमा बस्नुपर्ने अवस्था देखिएको थियो। पैसा तिरेर टिकट काटिसकेका दर्शकले समेत मैदान प्रवेशका क्रममा झन्झट बेहोर्नुपरेपछि टिकट व्यवस्थापनमाथि असन्तुष्टि बढेको थियो।
पहिलो संस्करणबाट पाठ सिकेर दोस्रो संस्करणमा यस्ता समस्या समाधान हुने अपेक्षा गरिएको थियो। तर दोस्रो संस्करणमा पनि टिकट व्यवस्थापनलाई लिएर गुनासा दोहोरिए। कतिपय दर्शकले पैसा काटिए पनि टिकट नपाएको गुनासो गरे भने कतिपयले टिकट बुकिङदेखि मैदान प्रवेशसम्म समस्या भएको बताएका थिए। एउटै प्रकृतिका समस्या पटक–पटक दोहोरिएपछि खल्तीको टिकट व्यवस्थापनमाथि समर्थकको प्रश्न झन् बलियो बनेको थियो।
खल्तीको टिकट व्यवस्थापनमाथि प्रश्न उठेको अर्को घटना २०८३ साल जेठ २ गते भएको थियो। त्यतिबेला नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक एकदिवसीय सिरिज चलिरहेको थियो। नेपाली टोलीको खेल हेर्न समर्थकले खल्तीमार्फत २०० रुपैयाँ तिरेर टिकट खरिद गरेका थिए। तर मैदानमा पुगेपछि केही समर्थकको हातमा परेको टिकटमा त्यस दिन भइरहेको खेलको विवरण नभई नेपाल र यूएईबीच भएको पुरानो टी–२० सिरिजको विवरण उल्लेख भएको भेटिएको थियो।
टिकटमा पुरानो मिति र फरक खेलको विवरण उल्लेख भएपछि दर्शक अन्योलमा परेका थिए। अझ २०० रुपैयाँ तिरेर खरिद गरिएको टिकटमा ७५० रुपैयाँ मूल्य छापिएको विषयले समेत थप प्रश्न जन्माएको थियो। नेपाली क्रिकेटको खेल हेर्न पैसा तिरेर टिकट काटेका समर्थकले मैदानमा पुगेपछि गलत विवरण भएको टिकट हातमा पाउनु सामान्य गल्तीभन्दा गम्भीर विषय बनेको थियो।
उक्त घटनाबारे सम्बन्धित पक्षसँग प्रत्यक्ष कुराकानीसमेत भएको थियो। क्यानका तत्कालीन प्रवक्ता छुम्बी लामाले टिकटमा गल्ती भएको स्वीकार गरेका थिए। त्यस्तै, खल्तीका मुख्य सञ्चालन अधिकृत पुष्पराज न्यौपानेले पनि घटनाबारे स्वीकार गर्दै आगामी दिनमा सचेत हुनुपर्ने बताएका थिए। यस घटनापछि टिकट व्यवस्थापनको गुणस्तर र त्यसको जिम्मेवारीका विषयमा थप बहस भएको थियो।
टिकट व्यवस्थापनसँग सम्बन्धित विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समेत उजुरी परेको थियो। टिकटमा गलत विवरण भेटिएको, दर्शकले समस्या भोग्नुपरेको तथा टिकट बिक्री र प्रवेश व्यवस्थापनमा देखिएका कमजोरीबारे प्रश्न उठेपछि विषय सम्बन्धित निकायसम्म पुगेको थियो। पछि क्यानले समेत राखेपलाई जवाफ दिँदै खल्तीको टिकट व्यवस्थापनसँग सम्बन्धित विषयमा आफ्नो धारणा स्पष्ट पारेको थियो।
यस्ता विवादबीच खल्तीका एक उच्च अधिकारीले यसअघि तेस्रो संस्करणमा भने टिकट व्यवस्थापन निकै राम्रो बनाउने बताएका थिए। अघिल्ला दुई संस्करणमा जे–जस्ता समस्या देखिए पनि तेस्रो संस्करणमा त्यस्ता कमजोरी नदोहोरिने उनको दाबी थियो। टिकट बुकिङदेखि मैदान प्रवेशसम्मको प्रक्रिया सहज बनाउने र समर्थकले विगतमा जस्तो समस्या भोग्न नपर्ने गरी व्यवस्थापन गर्ने बताइएको थियो।
तर अहिले अवस्था भने उल्टो देखिएको छ। तेस्रो संस्करणमा राम्रो गर्ने दाबी गरेको खल्ती नै एनपीएलको टिकटिङ अधिकारबाट बाहिरिएको छ। दुई संस्करणमा देखिएका विवाद र गुनासोपछि तेस्रो संस्करणमा टिकट व्यवस्थापनको जिम्मेवारी इसेवाले पाएको छ। यसले खल्तीका लागि एनपीएल टिकटिङमा ठूलो झट्का लागेको देखिन्छ।
क्यान स्रोतका अनुसार अघिल्ला संस्करणमा टिकट व्यवस्थापनका क्रममा पटक–पटक समस्या देखिएपछि यसपटक नयाँ कम्पनीमार्फत टिकट व्यवस्थापन गर्ने निर्णय गरिएको हो। खल्तीलाई निरन्तरता नदिएर इसेवालाई जिम्मेवारी दिनुमा विगतका अनुभवले समेत भूमिका खेलेको बताइएको छ।
अब इसेवामाथि भने ठूलो जिम्मेवारी आएको छ। एनपीएलमा नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण निकै उच्च हुने भएकाले एकैपटक ठूलो संख्यामा टिकट बुकिङ हुने गर्छ। यस्तो अवस्थामा सर्भर क्षमता, अनलाइन भुक्तानी, टिकट प्राप्ति, टिकट प्रमाणीकरण तथा मैदान प्रवेश व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्नेछ।
इसेवा डिजिटल भुक्तानी तथा अनलाइन सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय कम्पनी भएकाले समर्थकले यसपटक टिकट व्यवस्थापन सहज हुने अपेक्षा गरेका छन्। विशेषगरी विगतमा जस्तो टिकट काट्दा सर्भर डाउन हुने, पैसा काटिए पनि टिकट नआउने, गलत विवरण भएको टिकट आउने वा टिकट हातमा हुँदाहुँदै मैदान प्रवेशमा समस्या हुने अवस्था नदोहोरियोस् भन्ने समर्थकको अपेक्षा छ।
इसेवाले यसपटक टिकट बिक्री र व्यवस्थापनलाई प्रभावकारी बनाउन सके खल्तीको पालामा देखिएका विवादबाट आयोजकले पाठ सिकेको सन्देश पनि जानेछ। हजारौँ समर्थकको प्रत्यक्ष सहभागिता हुने एनपीएलमा टिकट व्यवस्थापन राम्रो हुनु प्रतियोगिताको समग्र सफलतासँग पनि जोडिएको विषय हो।
यसरी एनपीएलका अघिल्ला दुई संस्करणमा टिकट व्यवस्थापनलाई लिएर पटक–पटक आलोचना खेपेको खल्ती यसपटक तेस्रो संस्करणमा टिकटिङ अधिकारबाटै बाहिरिएको छ। तेस्रो संस्करणमा राम्रो गर्ने दाबी गरिरहेका खल्तीका अधिकारीको भनाइ पूरा हुनुअघि नै टिकटिङको जिम्मेवारी इसेवाको हातमा पुगेको छ।
यो पनि पढ्नुहोस् :
दर्शक ठग्ने खल्ती, गल्ती सच्याउनुको सट्टा उल्टै दिन्छ धम्की!
.

