आईसीयूमै क्यामेरा छिरेपछि तात्यो काउन्सिल!

काठमाडौं । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीको अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाउँदै अध्ययन अघि बढाएको छ।

रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलले लिएको अन्तर्वार्तासहितको सामग्री काउन्सिलको ध्यानमा आएको हो। त्यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक आईसीयूमा उपचाररत रहेकै अवस्थामा बीबीसी नेपालीले प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ।

प्रेस काउन्सिलका सहप्रवक्ता रामशरण बोहराका अनुसार आईसीयू सामान्य अन्तर्वार्ता गर्ने स्थान होइन। त्यहाँ उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति, मानवीय मर्यादा तथा उपचार प्रक्रियामा पर्न सक्ने असरलाई गम्भीर रूपमा विचार गर्नुपर्ने हुन्छ।

काउन्सिलले सम्बन्धित अस्पताललाई प्रशासन, बिरामी तथा बिरामीका परिवारको अनुमति लिएर अन्तर्वार्ता गरिएको हो वा होइन भन्नेबारे जानकारी दिन पत्राचार गरेको छ।

त्यसैगरी, आईसीयूमा सञ्चारकर्मीलाई प्रवेश अनुमति दिने वा नदिने विषयमा जानकारी माग्दै नेपाल मेडिकल काउन्सिललाई समेत पत्र पठाइएको छ। प्रसारित सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहेर अध्ययन तथा अनुगमन भइरहेको काउन्सिलले जनाएको छ।

अध्ययनपछि आवश्यक देखिए पत्रकार आचारसंहिताअनुसार थप प्रक्रिया अघि बढाइने प्रेस काउन्सिलको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button