एनपीएल आउन ३ दिन बाँकी, यसपटक मैदानमा के छ नयाँ?

काठमाडौँ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन अब तीन दिन मात्रै बाँकी छ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा यसपटक खेलाडीको प्रदर्शनसँगै नयाँ प्रविधि, अन्तर्राष्ट्रिय मान्यता र मैदानमा थपिएका सुविधाले पनि दर्शकको ध्यान तान्ने देखिएको छ।

अघिल्ला दुई संस्करणभन्दा यसपटकको एनपीएललाई थप प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउने तयारी गरिएको छ। विश्वचर्चित विदेशी खेलाडीको सहभागितादेखि अम्पायरको निर्णय पुनरावलोकन गर्न सकिने प्रविधिसम्मका नयाँ व्यवस्थाले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

डीआरएसबाट अम्पायरको निर्णय जाँच्न पाइने

यसपटक एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुँदै छ। क्रिकेटमा अम्पायरको निर्णय विवादित हुँदा खेलको नतिजामै असर पर्न सक्ने भएकाले डीआरएसलाई महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यस प्रविधिबाट खेलाडीले अम्पायरको केही निर्णयलाई चुनौती दिँदै पुनरावलोकन गराउन सक्नेछन्।

एलबीडब्लूको निर्णय जाँच्न बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ भने ब्याट र बलबीच सम्पर्क भएको वा नभएको पत्ता लगाउन एज डिटेक्सन तथा साउन्ड वेभ प्रविधिको सहायता लिइनेछ। रनआउट, स्टम्पिङलगायतका निर्णय पनि भिडियोमार्फत जाँच गर्न सकिनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्युको अवसर पाउने व्यवस्था गरिएको छ।

यो प्रविधि भित्र्याउन करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ। खर्च नेपाल क्रिकेट संघ (क्यान) र आठवटै फ्रेन्चाइजले साझेदारी गर्ने व्यवस्था मिलाइएको छ।

एनपीएललाई आईसीसीको आधिकारिक मान्यता

यसपटकको अर्को महत्त्वपूर्ण उपलब्धि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त आधिकारिक मान्यता हो। अक्टोबर १६ मा एनपीएलको तेस्रो संस्करणले आधिकारिक टी–२० प्रतियोगिताको मान्यता पाएको हो। यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन र लिएका विकेट आधिकारिक टी–२० रेकर्डमा समावेश हुनेछन्।

प्रतियोगितालाई स्वच्छ र निष्पक्ष बनाउन आईसीसीको एन्टी करप्सन युनिटले पनि निगरानी गर्नेछ। यसले एनपीएलको विश्वसनीयता बढाउनुका साथै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगिताको पहिचान थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वार्नर, रसेल र शाकिबजस्ता स्टारको आकर्षण

एनपीएलको तेस्रो संस्करणमा विश्वचर्चित खेलाडीको उपस्थितिले पनि दर्शकलाई उत्साहित बनाएको छ। अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दै छन्। वेस्ट इन्डिजका विस्फोटक खेलाडी आन्द्रे रसेल विराटनगर किङ्समा आबद्ध छन् भने बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्ससँग जोडिएका छन्।

त्यस्तै, इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निशम जनकपुर बोल्ट्सबाट खेल्ने तयारीमा छन्। पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर पनि प्रसारण टोलीको विश्लेषकका रूपमा नेपाल आउने कार्यक्रम छ। यी खेलाडीको उपस्थितिले प्रतियोगिताको रोमाञ्चकता बढाउनुका साथै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीबाट अनुभव बटुल्ने अवसर दिनेछ।

कीर्तिपुर मैदानमा थपिए नयाँ सुविधा

यसपटक दर्शकले कीर्तिपुर मैदानमा पनि केही नयाँ परिवर्तन देख्न पाउनेछन्। मैदानमा करिब दुई हजार सिट थप्ने, छानासहितको प्यारापिट बनाउने र नयाँ सिट जडान गर्ने काम गरिएको छ। त्यसैगरी, एलईडी स्कोरबोर्ड, डिजिटल पेरिमिटर बोर्ड, खेलाडीका लागि आधुनिक डगआउट, मिडिया सेन्टर र छुट्टै फ्यामिली जोनजस्ता सुविधा थपिएका छन्।

दर्शकका लागि शौचालय र बस्ने व्यवस्थामा समेत सुधार गरिएको छ। यी परिवर्तनले मैदानमा बसेर खेल हेर्ने अनुभवलाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, अन्तर्राष्ट्रिय प्रसारणको गुणस्तर र प्रतियोगिताको व्यावसायिक आकर्षण बढाउन पनि नयाँ पूर्वाधारले सहयोग पुर्‍याउनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button