पाकिस्तानमा हिन्दु मन्दिर मास्ने प्रयास, विश्व हिन्दु परिषद् आक्रोशित!

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद्को मठ-मन्दिर, अर्चक, पुरोहित विभागले प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक धार्मिक सम्पदा भत्काउने प्रयासको भर्त्सना गरेको हो।
विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा डेरा इस्माइल खानको रहिम बजार क्षेत्रमा रहेको रामलीला मन्दिर ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको सम्पदा भएको उल्लेख गरिएको छ। व्यापारिक स्वार्थका लागि उक्त मन्दिरको अस्तित्व मेटाउन खोज्नु धार्मिक अल्पसङ्ख्यकको अधिकारमाथिको प्रहार भएको परिषद्को भनाइ छ।
परिषद्का अनुसार भू-माफिया र स्वार्थी समूहको मिलेमतोमा ऐतिहासिक मन्दिर भत्काएर व्यापारिक संरचना निर्माण गर्न खोजिएको हो। स्थानीय हिन्दु समुदाय तथा नागरिक समाजका अभियन्ताहरूले विरोध जनाएपछि स्थानीय प्रशासनले मन्दिर भत्काउने कार्य रोकेको र उक्त स्थललाई सिल गरी सरकारी निकाय इभाकुई ट्रस्ट प्रपर्टी बोर्ड (ETPB) को नियन्त्रणमा राखेको जनाइएको छ।
यद्यपि, मन्दिर भत्काउने कार्य रोक्नु मात्रै पर्याप्त नभएको भन्दै परिषद्ले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र ऐतिहासिक मन्दिरको पूर्ण जीर्णोद्धार गर्न माग गरेको छ।
विश्व हिन्दु परिषद् नेपालले पाकिस्तानमा भएको यस घटनालाई धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँग जोडिएको गम्भीर विषयका रूपमा लिएको छ। परिषद्का अनुसार मठ-मन्दिर केवल पूजाआजा गर्ने स्थल मात्र नभई इतिहास, परम्परा, संस्कृति र सभ्यताका महत्त्वपूर्ण धरोहर हुन्। यस्ता सम्पदाको संरक्षण गर्नु सम्बन्धित सरकार तथा समुदायको साझा जिम्मेवारी हो।
पछिल्ला वर्षहरूमा पाकिस्तानसहित विभिन्न देशमा हिन्दु मन्दिर तथा धार्मिक सम्पदामाथि तोडफोड, आगजनी र क्षति पुर्याइएका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। बंगलादेशमा समेत विभिन्न समयमा हिन्दु धार्मिक स्थलमाथि आक्रमण र तोडफोडका घटना सार्वजनिक भएका छन्। त्यसैगरी अस्ट्रेलिया, क्यानडा र अमेरिकाका केही स्थानमा रहेका हिन्दु मन्दिरहरूमा तोडफोड तथा आपत्तिजनक सन्देश लेखिएका घटनाले धार्मिक सम्पदाको सुरक्षाबारे चिन्ता बढाएको छ।
परिषद्का राष्ट्रिय अध्यक्ष आचार्यले धार्मिक स्थलमाथि हुने आक्रमणले धार्मिक स्वतन्त्रता र सांस्कृतिक अधिकारको सम्मानमाथि प्रश्न उठाउने बताउनुभएको छ। उहाँले ऐतिहासिक मन्दिरहरूको संरक्षण गर्नु कुनै एक समुदायको मात्रै नभई मानव सभ्यता र सांस्कृतिक विविधताको संरक्षणसँग सम्बन्धित विषय भएको उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमार्फत परिषद्ले पाकिस्तान सरकार, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था तथा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ। साथै, रामलीला मन्दिरको संरक्षण सुनिश्चित गर्न, घटनामा संलग्न दोषीमाथि कारबाही गर्न र मन्दिरको पुनःस्थापना प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।
परिषद्ले विश्वभरका हिन्दु समुदायलाई धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि एकताबद्ध भएर आवाज उठाउनसमेत अपिल गरेको छ। करिब दुई शताब्दी पुरानो इतिहास बोकेको रामलीला मन्दिरको संरक्षण र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने परिषद्को माग छ।



