दोस्रो सिजनका विजेता र उपविजेता भिड्दै, कुन टिम कति बलियो?
प्रधानमन्त्री शाहले उद्घाटन गर्ने, कहाँ हेर्ने प्रत्यक्ष ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमै अघिल्लो संस्करणका विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेललाई गत सिजनको फाइनलको पुनरावृत्तिका रूपमा हेरिएको छ। उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रिने लुम्बिनी र अघिल्लो फाइनलको हारको बदला लिने योजनामा रहेको सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले प्रतियोगिताको सुरुवातमै क्रिकेटप्रेमीको ध्यान तानेको छ।
आजको उद्घाटन खेल अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेनले एनपीएलको उद्घाटन गर्नेछन्।
प्रधानमन्त्री बालेनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’
एनपीएलको तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स प्रतियोगितामा सहभागी छन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। यसपटक लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम सुरुवातदेखि नै आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ।
गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा ८५ रनमै समेटिएको थियो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले उक्त खेलमा ह्याट्रिक विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाएका थिए। त्यसपछि लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
त्यही फाइनलको नतिजा यसपटकको उद्घाटन खेललाई थप रोचक बनाउने आधार बनेको छ। लुम्बिनी आफ्नो च्याम्पियनको पहिचान कायम राख्न चाहन्छ भने सुदूरपश्चिम अघिल्लो हार बिर्साउँदै नयाँ सिजनमा बलियो सुरुवात गर्ने योजनामा हुनेछ। यद्यपि, अघिल्लो संस्करणको नतिजाले मात्रै यसपटकको खेलको परिणाम निर्धारण गर्ने छैन। खेलाडीको वर्तमान लय, टोलीको रणनीति र मैदानमा देखिने प्रदर्शनले नै जितको टुंगो लगाउनेछ।
लुम्बिनी लायन्सको सबैभन्दा ठूलो शक्ति कप्तान रोहित पौडेलको नेतृत्व र अघिल्लो सिजनको सफलताबाट प्राप्त आत्मविश्वास हो। रोहितकै कप्तानीमा टोलीले पहिलो संस्करणको निराशाजनक प्रदर्शनबाट पुनरागमन गर्दै दोस्रो संस्करणको उपाधि जितेको थियो। पहिलो सिजनमा सातमध्ये केवल एक खेल जितेर अन्तिम स्थानमा रहेको लुम्बिनीले दोस्रो सिजनमा उल्लेखनीय सुधार गरेको थियो। लिग चरणमा चार खेल जित्दै चौथो स्थानमा पुगेको टोलीले नकआउट चरणमा काठमान्डु गोर्खाज र विराटनगर किङ्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
यसपटक पनि रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिने लुम्बिनीले मुख्य प्रशिक्षक टिनु योहानालाई निरन्तरता दिएको छ। टोलीले रोहित पौडेल, शेर मल्ल, दिलिप नाथ, सन्दीप जोरा, दिनेश अधिकारी, अभिषेक गौतम र तिलक भण्डारीलगायत खेलाडीलाई कायम राखेको छ। अक्सनबाट विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई २० लाख रुपैयाँमा अनुबन्ध गरेको लुम्बिनीले किशोर महतोलाई १० लाख रुपैयाँमा खरिद गरेको छ। त्यस्तै, दुर्गेश गुप्ता र आकाश त्रिपाठीलाई पाँच–पाँच लाख तथा अजय चौहान र अरनिको यादवलाई दुई–दुई लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ। ट्यालेन्ट हन्टबाट करण घर्तीमगरले पनि टोलीमा स्थान बनाएका छन्।
लुम्बिनीको अर्को आकर्षण विदेशी खेलाडी हुन्। टोलीमा श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डार्सी शर्ट, नामिबियाका रुबेन ट्रम्पलम्यान, अमेरिकाका शाड्ली भान स्काल्कविक र बंगलादेशका शामिम हुसेन छन्। डिकवेला र शर्टको ब्याटिङ, ट्रम्पलम्यानको तीव्र गति तथा शामिमको अलराउन्ड प्रदर्शन लुम्बिनीका लागि महत्त्वपूर्ण हुन सक्छ। अघिल्लो संस्करणमा डार्सी शर्टले २५६ रन बनाएका थिए भने ट्रम्पलम्यानले १५ विकेट लिँदै प्लेयर अफ द सिरिज र प्लेयर अफ द फाइनल दुवै पुरस्कार जितेका थिए। शेर मल्लले पनि १७ विकेट लिएका थिए। त्यसैले लुम्बिनीको बलिङ आक्रमणलाई यसपटक पनि बलियो पक्षका रूपमा हेरिएको छ।
अमेरिकाका अलराउन्डर शाड्ली भान स्काल्कविकको प्रदर्शनमा पनि लुम्बिनीको नजर रहनेछ। सन् २०२६ को टी–२० विश्वकपमा १३ विकेट लिएका उनले भारत र पाकिस्तानविरुद्ध समान चार विकेट लिएका थिए। ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने विदेशी खेलाडीको उपस्थितिले लुम्बिनीलाई थप विकल्प उपलब्ध गराउन सक्छ।
यता सुदूरपश्चिम रोयल्स पनि उपाधि दाबेदारका रूपमा मैदानमा उत्रिने तयारीमा छ। अघिल्लो संस्करणमा फाइनलसम्म पुगेको टोलीले यसपटक आफ्नो कमजोरी सुधार्दै उपाधि जित्ने लक्ष्य राखेको छ। वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेन र आक्रामक ब्याटर शेरफेन रदरफोर्डजस्ता खेलाडीको उपस्थितिले सुदूरपश्चिमको प्रदर्शनलाई थप चासोको विषय बनाएको छ।
फाबियन एलेनले वेस्ट इन्डिजका लागि ४२ टी–२० अन्तर्राष्ट्रिय खेलमा २४ विकेट लिनुका साथै २९८ रन बनाएका छन्। ब्याटिङ र बलिङ दुवै गर्न सक्ने उनी टोलीका लागि उपयोगी खेलाडी बन्न सक्छन्। त्यस्तै, रदरफोर्डको आक्रामक ब्याटिङले सुदूरपश्चिमलाई कठिन परिस्थितिमा पनि खेलमा फर्कने अवसर दिन सक्छ। तर विदेशी खेलाडीको व्यक्तिगत क्षमतासँगै नेपाली खेलाडीको प्रदर्शन र टोलीबीचको तालमेलले पनि नतिजामा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
टी–२० क्रिकेटमा पावरप्लेमा रन बनाउने गति, सुरुवाती विकेट जोगाउने क्षमता, मध्य ओभरमा विपक्षीलाई दबाबमा राख्ने रणनीति र अन्तिम ओभरमा बलिङको नियन्त्रण निर्णायक मानिन्छ। लुम्बिनीले आफ्नो बलियो बलिङ आक्रमणमार्फत सुदूरपश्चिमलाई दबाबमा राख्न खोज्नेछ भने सुदूरपश्चिमले अघिल्लो फाइनलको कमजोरी दोहोरिन नदिने प्रयास गर्नेछ। कप्तानहरूको रणनीति, विदेशी खेलाडीको अनुभव र नेपाली खेलाडीको लयले उद्घाटन खेलको नतिजा निर्धारण गर्न सक्छ।
एनपीएलको तेस्रो संस्करणमा उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। आकर्षक पुरस्कार राशि र प्रतिष्ठासँग जोडिएको प्रतियोगिताले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक वातावरणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतियोगिताका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण गरिनेछ। उद्घाटन खेलमै अघिल्लो संस्करणका विजेता र उपविजेता भिड्ने भएपछि पहिलो दिनको प्रतिस्पर्धा थप आकर्षक बन्ने देखिएको छ।
लुम्बिनीका लागि उपाधि रक्षा अभियानको पहिलो परीक्षा हुनेछ भने सुदूरपश्चिमका लागि अघिल्लो फाइनलको हारको जवाफ दिने अवसर। दुवै टोलीसँग विदेशी स्टार र अनुभवी नेपाली खेलाडीको साथ रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। तर उद्घाटनमै कसले बाजी मार्छ र कुन टोलीले उपाधि यात्रामा बलियो संकेत दिन्छ भन्ने कुरा मैदानमा हुने प्रदर्शनले नै निर्धारण गर्नेछ।



