ठुलखालीमा दशैँ खेलकुद सम्पन्न, को बन्यो च्याम्पियन र कसले कति पाए पुरस्कार ?

दार्चुला । मालिकार्जुन भैरवनाथ खेलकुद विकास समितिको आयोजनामा लेकम गाउँपालिका–६, सिरोडास्थित ठुलखाली खेलमैदानमा सञ्चालित टोलस्तरीय खेलकुद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। बडादशैँको अवसरमा असोज २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो।
प्रतियोगिताअन्तर्गत पुरुष खुला भलिबलतर्फ काल भैरव स्पोर्ट्स तेलीगाउँ प्रथम भएको छ। हुनैनाथ युवा क्लब सिरोडा द्वितीय र मालिकार्जुन युवा क्लब उचाकोट तृतीय भएका छन्। प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए।
भलिबलतर्फ प्रथम भएको काल भैरव स्पोर्ट्स तेलीगाउँले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, द्वितीय भएको हुनैनाथ युवा क्लब सिरोडाले १२ हजार रुपैयाँ तथा तृतीय भएको मालिकार्जुन युवा क्लब उचाकोटले ६ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यसैगरी, महिलातर्फको बम ब्लास्ट प्रतियोगितामा सिरोडाकी पार्वती खत्री प्रथम भएकी छन्। मेल्लाउकी पार्वती मिश्र द्वितीय र तेलीगाउँकी चाँदनी नाथ तृतीय भएकी छन्। प्रतियोगितामा प्रथम भएकी खत्रीले दुई हजार पाँच सय रुपैयाँ, द्वितीय भएकी मिश्रले एक हजार पाँच सय रुपैयाँ र तृतीय भएकी नाथले एक हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
मालिकार्जुन भैरवनाथ खेलकुद विकास समितिका अध्यक्ष अमर खत्रीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन्। उनले स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
अध्यक्ष खत्रीका अनुसार खेलकुदले युवाहरूमा अनुशासन, सहकार्य, सकारात्मक सोच र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै युवाबीच आपसी भाइचारा र सद्भाव बढाउनसमेत सहयोग पुर्याउँछन्।
खत्रीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, खेलप्रेमी, समाजसेवी, समितिका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे। आगामी दिनमा पनि स्थानीयस्तरमा खेलकुद गतिविधिलाई निरन्तरता दिन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनले बताए।
बडादशैँको अवसरमा आयोजना गरिएको प्रतियोगिता खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नभई स्थानीय युवालाई एकताबद्ध बनाउने, खेल प्रतिभाको पहिचान गर्ने र सामाजिक सद्भाव कायम गर्ने माध्यम बनेको आयोजकको भनाइ छ।



