एनपीएल सुरक्षामा १४ सय प्रहरी, रंगशालाभित्र बर्दीधारी नहुने!

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई सुरक्षित र व्यवस्थित बनाउन करिब १४ सय प्रहरी परिचालन गरिने भएको छ। सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानदेखि खेलाडी बस्ने होटल र आवतजावत गर्ने सडकसम्म सुरक्षा व्यवस्था कडा पारिएको छ। यसपटक रंगशालाभित्र बर्दी र हतियारसहितका प्रहरी खटिने छैनन्। त्यहाँ सादा पोसाक तथा अफिसियल सर्ट–प्यान्टमा प्रहरी परिचालन गरिनेछ।
एनपीएलको उद्घाटन खेल सोमबार साँझ ५ बजे हुनेछ। उद्घाटन भिडन्तमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। प्रतियोगिताको सुरुवातमै दुई बलिया टोलीबीच प्रतिस्पर्धा हुने भएकाले दर्शकको उपस्थिति र चहलपहललाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
जिल्ला सुरक्षा समिति, नेपाल क्रिकेट संघ (क्यान) र सुरक्षा निकायबीचको समन्वयमा एनपीएलका लागि विशेष सुरक्षा योजना तयार पारिएको हो। प्रतियोगितालाई लक्षित गर्दै आइतबार साँझ सुरक्षा समितिको पूर्वतयारी बैठक बसेको थियो। बैठकमा मैदानमा खटिने विभिन्न टोलीका कमान्डरलाई सुरक्षा व्यवस्थाबारे जानकारी दिइएको थियो। यसअघि पनि क्यानका पदाधिकारीसहित पटक–पटक बैठक बसेर सुरक्षा योजनाबारे छलफल गरिएको थियो।
नेपाल प्रहरीले आफ्नो जिम्मेवारीअन्तर्गत २४ किसिमका ड्युटीका लागि करिब एक हजार प्रहरी परिचालन गर्नेछ। रंगशालाका सबै प्रवेशद्वारमा चेकजाँच गरिनेछ भने मैदानभित्रका विभिन्न क्षेत्रमा पनि प्रहरी खटिनेछन्। दर्शकले रंगशालाभित्र लैजान पाउने र नपाउने सामग्रीबारे तयार पारिएको निर्देशिका कार्यान्वयन गराउन पनि प्रहरीले निगरानी गर्नेछ।
यसपटक रंगशालाभित्र बर्दीधारी प्रहरी नखटाउने निर्णय अन्तर्राष्ट्रिय अभ्यास र क्यानसँगको छलफलका आधारमा गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्। निजी सुरक्षा कम्पनीलाई पनि मैदानभित्रको व्यवस्थापनमा जिम्मेवारी दिइएको छ। त्यसका लागि करिब तीन सय निजी सुरक्षा गार्ड परिचालन गरिनेछ। निजी सुरक्षाकर्मीसँग समन्वय गर्दै प्रहरीले सुरक्षा व्यवस्थापन गर्नेछ।
सुरक्षाका लागि सीसीटीभी क्यामेरा र ड्रोनको समेत प्रयोग गरिनेछ। खेल सुरु हुनुअघि रंगशालामा तालिमप्राप्त कुकुरको सहयोगमा डग स्निफिङ गरी सुरक्षा जाँच गरिनेछ। खेलाडी तथा अफिसियल बस्ने होटलमा छुट्टाछुट्टै प्रहरी टोली परिचालन गरिनेछ। होटलबाट मैदानसम्म खेलाडीलाई सुरक्षित रूपमा ल्याउन एस्कोर्टिङको व्यवस्था मिलाइएको छ। खेलाडीको आवागमनका क्रममा ट्राफिक व्यवस्थापन गर्न छुट्टै टोलीसमेत खटिनेछ।
हरेक फ्रेन्चाइज टोलीसँग समन्वय गर्न प्रहरी अधिकृतलाई छुट्टाछुट्टै जिम्मेवारी दिइएको छ। त्रिवि क्रिकेट मैदानको सुरक्षाको नेतृत्व कीर्तिपुर वृत्तका डीएसपीले गर्नेछन्। आवश्यकताअनुसार काठमाडौं प्रहरी परिसरबाट थप डीएसपी तथा एसपी र एसएसपीसमेत परिचालन हुन सक्नेछन्। सुरक्षा टोलीले यसअघि मूलपानी र त्रिवि क्रिकेट मैदानमा अभ्याससमेत गरिसकेको प्रहरीले जनाएको छ।
यस्तै, रंगशालाबाहिरको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीले सम्हाल्नेछ। सशस्त्र प्रहरीले सातवटा टोली परिचालन गर्ने योजना बनाएको छ। तीमध्ये पाँच प्लाटुन विभिन्न स्थानमा तैनाथ रहनेछन् भने अन्य टोली रिजर्भ र मोबाइल गस्तीमा खटिनेछन्। एकपटकमा एसपीको कमान्डमा ३७५ जनासम्म सशस्त्र प्रहरी परिचालन हुनेछन्। आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी रिजर्भ टोलीसमेत राखिनेछ। समग्र कीर्तिपुर क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यसहित सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताएका छन्।
एनपीएलको तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन्। आईसीसीको औपचारिक मान्यतासँगै प्रतियोगितामा विभिन्न देशका चर्चित क्रिकेटरहरू सहभागी हुँदैछन्। खेलाडी, दर्शक र प्रतियोगितासँग जोडिएका सबै पक्षको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी तथा सशस्त्र प्रहरीले विशेष निगरानी गर्ने भएका छन्। सोमबार साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन खेलसँगै सुरु हुने एनपीएलमा सुरक्षा व्यवस्थापन कत्तिको प्रभावकारी हुन्छ भन्नेमा पनि सबैको ध्यान रहनेछ।



