मलानले मच्चाए तहल्का, विराटनगरलाई चितवनको १५८ रनको टार्गेट!

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।
चितवनका लागि इंग्ल्यान्डका स्टार ब्याटर डेभिड मलानले विस्फोटक अर्धशतक प्रहार गर्दै सर्वाधिक ७० रन बनाए। उनले आफ्नो इनिङ्समा ५ छक्का र ५ चौका प्रहार गर्दै विराटनगरका बलरमाथि दबाब सिर्जना गरे।
मलानको उत्कृष्ट ब्याटिङले चितवनलाई सम्मानजनक योगफलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्यो। यस्तै, रवि बोपाराले ३२ रन बनाए भने डान मोस्ली २९ रनमा अविजित रहे। देव खनालले पनि १२ रनको योगदान दिए।
बलिङतर्फ विराटनगर किंग्सका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक–एक विकेट लिए। तर चितवनलाई ठूलो योगफल बनाउनबाट रोक्न विराटनगरका बलर सफल हुन सकेनन्।
अब विराटनगर किंग्सले जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।



