जितनजिक पुगेर चुक्यो विराटनगर, चितवनले मार्यो बाजी!

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। जितका लागि अन्तिम ३ ओभरमा २१ रन आवश्यक रहेको अवस्थामा विराटनगरले लगातार विकेट गुमाएपछि चितवनले रोमाञ्चक जित निकालेको हो।
त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो। एक समय सहज जिततर्फ अघि बढिरहेको विराटनगरलाई रोक्न चितवनका बलर कमलसिंह ऐरी निर्णायक बने।
कमलले १८औँ ओभरमा लगातार दुई विकेट लिएपछि खेलको अवस्था बदलियो। उनले रुपेश सिंह र प्रतिश जिसीलाई लगातार आउट गर्दै विराटनगरमाथि दबाब बढाए। त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जित्ने सम्भावना कमजोर बन्यो।
चितवनका लागि कमलसिंह ऐरीले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। रिजन ढकालले २ विकेट हात पार्दा रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट लिए।
विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए। उनले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए। रसेलले मैदानमा छक्का प्रहार गर्दै विराटनगरको जितको आशा बलियो बनाएका थिए। तर, अन्तिम समयमा लगातार विकेट गुमाउँदा उनको आक्रामक ब्याटिङले टोलीलाई जित दिलाउन सकेन।
विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले लोकेश बमसँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। लोकेशले १४ बलमा दुई चौका र दुई छक्कासहित २६ रन बनाए। तर, त्यसपछि विराटनगरले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो।
चरिथ असलंका ८ रनमा आउट हुँदा बसिर अहमदले १३ रन बनाए। एन्जेलो म्याथ्युजले १४ रनको योगदान दिए। उनले असलंकासँग मिलेर २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। शुभम रञ्जाने १० रन बनाउँदा कप्तान सन्दीप लामिछाने खाता नखोली आउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका ओपनर डाविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ७० रन बनाए। उनको इनिङ्समा टोलीले प्रतिस्पर्धात्मक योगफल तयार पार्न सफल भयो।
मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देवले १५ बलमा १२ रन बनाए। त्यसपछि अर्जुन साउद ९ बलमा ३ रन बनाएर आउट भए। उनलाई एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याच गराएका थिए।
१३औँ ओभरमा मलान आन्द्रे रसेलको बलमा आउट भएपछि चितवनको ब्याटिङ सम्हाल्ने जिम्मेवारी कप्तान रवि बोपारा र डान मोस्लीको काँधमा आएको थियो। दुवैले संयमित ब्याटिङ गर्दै तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहे।
चितवनले बनाएको १५७ रनको योगफल विराटनगरका लागि सहज लक्ष्य देखिएको थियो। तर, अन्तिम ओभरतिर कमलसिंह ऐरी र रिजन ढकालको प्रभावशाली बलिङले खेलको नतिजा चितवनको पक्षमा पार्यो।
यस जितसँगै चितवनले एनपीएलमा महत्त्वपूर्ण सफलता हात पारेको छ। जितनजिक पुगेर पनि सम्हालिन नसक्दा विराटनगर भने निराश बनेको छ।



