एनपीएलमा एक्स्ट्रिमको धमाका, उत्कृष्ट खेलाडीलाई चाँदीको बल!

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले चाँदीको बल पुरस्कार पाउने भएका छन् । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको हो । खेलाडीको व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्दै प्रतियोगिताको रोमाञ्च थप्ने उद्देश्यले कम्पनीले यस्तो पहल गरेको हो ।
आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । यस पुरस्कारले खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत कौशल, मेहनत र मैदानमा देखाउने क्षमतालाई समेत महत्त्व दिने अपेक्षा गरिएको छ ।
एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन् । यसले जित्ने टोलीका खेलाडीलाई मात्रै नभई विपक्षी टोलीका उत्कृष्ट खेलाडीलाई समेत आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ ।
एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् । उनको उपलब्धिसँगै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइने यो पुरस्कार पनि चर्चामा आएको छ ।
एक्स्ट्रिमको यस पहलले खेलाडीलाई व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरित गर्ने र प्रतियोगितामा प्रतिस्पर्धात्मक भावना बढाउने अपेक्षा गरिएको छ । साथै, नेपाली क्रिकेटप्रति समर्थकको आकर्षण बढाउन र एनपीएलको रोमाञ्चलाई थप उचाइ दिन पनि यसले योगदान पुर्याउने विश्वास गरिएको छ ।
यससँगै एनपीएलमा टोलीको जितका लागि प्रतिस्पर्धा गर्ने खेलाडीका लागि व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै चाँदीको बल जित्ने लक्ष्य पनि थपिएको छ ।



