नेपाली श्रमिकको रोजगारी संकटमा, मलेसियाको भिसा प्रक्रिया ठप्प!

काठमाडौं । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया ठप्प भएको छ । श्रमिक भर्नाका लागि म्यानपावर कम्पनी छनोट गर्ने विषयमा नेपाल र मलेसियाबीच विवाद बढेपछि नयाँ कामदारको स्वास्थ्य परीक्षण दर्ता तथा भिसा प्रक्रिया रोकिएको हो । यसबाट रोजगारीका लागि मलेसिया जाने तयारीमा रहेका नेपाली श्रमिक प्रभावित भएका छन् ।
मलेसिया सरकारको ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले गत असोज १५ गतेदेखि नयाँ श्रमिकको बायोमेडिकल अर्थात् स्वास्थ्य परीक्षणसम्बन्धी दर्ता गर्न रोकेको छ । बायोमेडिकल दर्ता प्रक्रिया अवरुद्ध भएपछि नयाँ कामदारका लागि कलिङ भिसा जारी हुन सकेको छैन ।
एफडब्लूसीएमएस सञ्चालन गर्ने कम्पनी वेस्टिनेट एसडीएनले मलेसिया सरकारले छनोट गरेका २५ वटा मुख्य म्यानपावर कम्पनी सक्रिय भएपछि मात्र बायोमेडिकल दर्ता प्रक्रिया खुल्ने सर्त राखेको छ । तर, नेपाल सरकारले मलेसियाले छनोट गरेका ती कम्पनीलाई अनुमति नदिएपछि विवाद थप जटिल बनेको हो ।
मलेसियाले गत भदौमा २५ वटा मुख्य रिक्रुटमेन्ट एजेन्सी तथा तिनका मातहतमा २५० वटा सहायक एजेन्सी रहने व्यवस्था अघि सारेको थियो । उक्त व्यवस्थाअनुसार प्रत्येक मुख्य एजेन्सीअन्तर्गत १० वटा सहायक एजेन्सी रहनेछन् । तर, नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनी छनोटको यो प्रक्रियाप्रति आपत्ति जनाउँदै आएको छ ।
नेपालले दुई देशबीच सहमति नजुटेसम्म पुरानै व्यवस्थाअनुसार श्रमिक भर्ना प्रक्रिया सञ्चालन हुनुपर्ने अडान राखेको छ । साथै, विवाद समाधान र श्रमसम्बन्धी समझदारी पत्र (एमओयू) नवीकरणका लागि संयुक्त कार्यदलको बैठक बस्ने प्रस्तावसमेत अघि सारेको छ । मन्त्रालयले बैठकका लागि नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ को मिति प्रस्ताव गरेको छ ।
तर, मलेसियाली पक्ष भने आफ्नो निर्णयबाट पछि हटेको छैन । मलेसियाका श्रममन्त्री रमानन रामकृष्णानले नेपाली समकक्षी रामजी यादवलाई पत्र लेख्दै २५ मुख्य रिक्रुटमेन्ट एजेन्सी र तिनका मातहतमा २५० सहायक एजेन्सी रहने संरचनाप्रति आफ्नो सरकार प्रतिबद्ध रहेको जानकारी गराइसकेका छन् । दुवै पक्षबीच सहमति नजुट्दा नयाँ कामदारको भर्ना प्रक्रिया पुनः कहिलेदेखि सुरु हुन्छ भन्ने अन्योल कायम छ ।
यसैबीच, वैदेशिक रोजगार विभागले मलेसियाद्वारा सूचीकृत २५ वटा म्यानपावर कम्पनीका सञ्चालकहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको छ । विभागले ३५ दिनभित्र सम्पर्कमा नआए बैंक खाता तथा यात्रा अनुमति रोक्का गर्न सकिने चेतावनी दिँदै सम्बन्धित कम्पनीहरूको अनुगमनसमेत थालेको छ ।
मध्यपूर्वमा बढ्दो तनावका कारण खाडी मुलुकहरूमा नेपाली श्रमिकको नयाँ भर्ना ५२ प्रतिशतभन्दा बढीले खुम्चिएको अवस्थामा मलेसियाको रोजगारीमा आएको अवरोधले वैदेशिक रोजगारीको अर्को प्रमुख विकल्पसमेत प्रभावित भएको छ ।
गत आर्थिक वर्षमा मात्रै एक लाख ३२ हजार नेपाली रोजगारीका लागि मलेसिया पुगेका थिए । हाल मलेसियामा करिब चार लाख नेपाली कार्यरत रहेको र नेपाल भित्रिने कुल रेमिट्यान्सको झन्डै २० प्रतिशत हिस्सा मलेसियाबाट आउने गरेको विवरण छ ।
मलेसियाको रोजगारी प्रक्रिया अवरुद्ध हुँदा नयाँ अवसरको खोजीमा रहेका नेपाली श्रमिक, वैदेशिक रोजगार व्यवसायी तथा रेमिट्यान्समा निर्भर परिवार प्रभावित हुन सक्ने देखिएको छ ।



