१७ करोडमा हिमालय टिभीले पायो एनपीएल प्रसारण अधिकार

काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण अधिकार हिमालय स्पोर्ट्स अर्थात् हिमालय टिभीले प्राप्त गरेको छ। हिमालय स्पोर्ट्सले कीर्तिमानी १७ करोड २४ लाख रुपैयाँको बोली लगाउँदै एनपीएलको आधिकारिक प्रसारण अधिकार आफ्नो नाममा पारेको हो।

नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा सोमबार बोलपत्र खोलिएको थियो। त्यसक्रममा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको प्रस्ताव पेश गर्दै प्रसारण अधिकार हात पारेको हो। करबाहेक कम्पनीको बोली १४ करोड ५६ लाख रुपैयाँ रहेको बताइएको छ।

यो रकम गत वर्षको एनपीएल प्रसारण अधिकारको मूल्यभन्दा पाँच गुणाभन्दा बढी रहेको जनाइएको छ। यस वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा पनि हिमालय स्पोर्ट्सको प्रस्ताव झण्डै साढे दुई गुणा बढी हो।

हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारण अधिकार पाउनु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ। कम्पनीले नेपाली क्रिकेटप्रति दीर्घकालीन प्रतिबद्धतासहित एनपीएललाई अझ गुणस्तरीय र फराकिलो पहुँचका साथ दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको बताएको छ।

एनपीएलको बढ्दो आर्थिक मूल्यले नेपाली क्रिकेटको व्यावसायिक सम्भावना पनि उजागर गरेको छ। प्रसारण अधिकारमा भएको कीर्तिमानी बोलीले प्रतियोगिताको लोकप्रियता र बजार मूल्य तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।

हिमालय टिभीले अब एनपीएलका खेलहरू प्रत्यक्ष प्रसारण गर्नेछ। कीर्तिमानी रकममा भएको यो सम्झौताले एनपीएलसँगै समग्र नेपाली क्रिकेटको विकास र व्यावसायिक विस्तारमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button