पोखरा पहिलो जितको खोजीमा, सुदूरपश्चिम हारको बदला लिने दाउमा!

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा पोखरा विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ भने सुदूरपश्चिम पहिलो खेलको हार बिर्साउँदै पुनरागमन गर्ने दाउमा हुनेछ।

पोखराका लागि यो सिजनको पहिलो खेल हो। अघिल्ला दुई संस्करणमा प्लेअफसम्म पुग्न नसकेको टोली यसपटक सुरुवातदेखि नै बलियो प्रदर्शन गर्दै आफ्नो छवि बदल्न चाहन्छ। अर्कोतर्फ, उद्घाटन खेलमै लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमका लागि यो खेल अंक जोड्ने मात्र नभई टोलीको आत्मविश्वास फर्काउने अवसर पनि हो।

सुदूरपश्चिमले पहिलो खेलमा निकै निराशाजनक ब्याटिङ गरेको थियो। पहिले ब्याटिङ गरेको टोली ८७ रनमै समेटिएको थियो। उक्त सामान्य लक्ष्य लुम्बिनीले ७ विकेटको जित निकाल्दै सहजै पूरा गरेको थियो। बलियो खेलाडी संयोजन हुँदाहुँदै पनि ब्याटिङमा कमजोर देखिएको सुदूरपश्चिमले पोखराविरुद्ध आफ्नो कमजोरी सुधार्नुपर्नेछ।

पहिलो खेलको प्रदर्शनले सुदूरपश्चिमको ब्याटिङ क्रममाथि प्रश्न खडा गरेको छ। टोलीसँग नेपाली राष्ट्रिय टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड र स्कट कुगेलेइनजस्ता अनुभवी विदेशी खेलाडी छन्। तर, नाम चलेका खेलाडीको उपस्थिति मात्रै जितका लागि पर्याप्त हुँदैन भन्ने कुरा सुदूरपश्चिमले पहिलो खेलमै देखिसकेको छ।

अब पोखराविरुद्ध टोलीले सुरुवातदेखि नै संयमित र आक्रामक ब्याटिङबीच सन्तुलन मिलाउनुपर्नेछ। प्रारम्भिक ब्याटरले राम्रो सुरुवात दिलाउन सके मध्यक्रमका खेलाडीलाई इनिङ सम्हाल्न सहज हुनेछ। कप्तान दीपेन्द्रको भूमिका पनि महत्त्वपूर्ण हुनेछ। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिन सक्ने दीपेन्द्रले टोलीलाई एकजुट बनाएर जितको बाटोमा फर्काउने अपेक्षा गरिएको छ।

उता पोखरा एभेन्जर्स पनि कम चुनौतीपूर्ण टोली होइन। कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखराले यसपटक विदेशी खेलाडीमा ठूलो भरोसा राखेको छ। बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन पोखराका प्रमुख आकर्षणमध्ये एक हुन्। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने शाकिबको अनुभव टोलीका लागि निर्णायक बन्न सक्छ।

कुशल भुर्तेलबाट पोखराले आक्रामक सुरुवातको अपेक्षा गर्नेछ। उनले शीर्षक्रममा रन बनाउन सके पोखराले प्रतिस्पर्धात्मक योगफल तयार पार्न वा लक्ष्य पछ्याउन बलियो आधार पाउनेछ। दिनेश खरेल र अर्जुन कुमालजस्ता खेलाडीले पनि ब्याटिङमा जिम्मेवारी सम्हाल्नुपर्नेछ। मध्यक्रममा शाकिबसहित अन्य विदेशी खेलाडीको प्रदर्शनले पोखराको इनिङलाई थप मजबुत बनाउन सक्छ।

बलिङतर्फ पनि पोखराले सुदूरपश्चिमका ब्याटरलाई दबाबमा राख्नुपर्नेछ। पहिलो खेलमा सुदूरपश्चिमको ब्याटिङ कमजोर देखिएकाले पोखराले सुरुवाती विकेट लिन सके विपक्षीलाई कम योगफलमा रोक्ने अवसर पाउन सक्छ। तर, कमजोर प्रदर्शनपछि पुनरागमनको दबाबमा रहेको सुदूरपश्चिमलाई हल्का रूपमा लिनु पोखराका लागि महँगो पर्न सक्छ।

हेड टु हेडमा भने सुदूरपश्चिमको पक्ष बलियो देखिन्छ। एनपीएलका अघिल्ला दुई संस्करणमा भएका दुवै भेटमा सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो। पहिलो संस्करणमा पाँच रनको रोमाञ्चक जित निकालेको सुदूरपश्चिमले दोस्रो संस्करणमा १८ रनले पोखरालाई हराएको थियो। त्यसैले यसपटक पोखरासँग पुरानो नतिजा बदल्ने अवसर हुनेछ।

पोखराका लागि यस खेलको जितले प्रतियोगितामा राम्रो सुरुवात दिलाउनेछ भने सुदूरपश्चिमले जित निकाले पहिलो खेलको हारबाट बाहिर निस्कने मौका पाउनेछ। दुवै टोलीका लागि खेल महत्त्वपूर्ण भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button