गृहमन्त्री सुटुक्क सीमा क्षेत्रमा पुगेपछि सुरक्षा संयन्त्रमा हलचल, डीएसपीको जागिर धरापमा!

काठमाडौँ । सुरक्षा निकायलाई पत्तो नदिई पर्साको सिर्सिया नाकामा छड्के अनुगमनमा निस्किएका गृहमन्त्री सुदन गुरुङको उपस्थितिले वीरगन्जको सुरक्षा संयन्त्रमा ठूलो हलचल पैदा गरेको छ। शनिबार दिउँसो साधारण पोसाकमा सिर्सिया पुगेका गृहमन्त्रीसमक्ष स्थानीयले सुरक्षाकर्मीहरूकै मिलेमतोमा भइरहेको तस्करीको भण्डाफोर गरेका छन्।

अनुगमनका क्रममा स्थानीय सुरेन्द्र साहले भारततर्फ मोटरसाइकलमा तस्करीको सामान लोड गरेर राखिएको र सुरक्षाकर्मीको आडमै तस्करी भित्रिने गरेको दुखेसो पोखे। अर्का स्थानीय मुकेश साहले सशस्त्र प्रहरीको क्याम्पबाट निगरानी गरिने सिसी क्यामेराको पोलकै आडमा तस्करी हुने गरेको भन्दै मन्त्रीलाई नै प्रमाण देखाए। सिर्सिया नाकामा सशस्त्र प्रहरी बल १३ नम्बर गणको कमाण्ड डीएसपी गोबिन्द केसीले सम्हालिरहेका छन्।

नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ‘महिनावारी’ बुझाएर तस्करहरूले खुलेआम अवैध मालसामान भित्र्याउँदै आएको स्थानीयको भनाइ छ। गृहमन्त्रीले सिसी क्यामेराको निगरानी कहाँबाट हुन्छ भनी सोध्दा स्थानीयले सशस्त्रको क्याम्पबाट हुने बताएका थिए।

रास्वपा महाधिवेशनपछि बारा र पर्साका नाकाहरूको छड्के गरिरहेका गृहमन्त्रीको यो सक्रियताले सुरक्षा अधिकारीहरूलाई झस्काएको छ। स्थानीयबाटै सुरक्षाकर्मीको मिलेमतोबारे गम्भीर आरोप लागेपछि, विशेषगरी नाकाको जिम्मेवारीमा रहेका डीएसपीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। मन्त्रीको यस आकस्मिक अनुगमनले तस्करीमा संलग्न सुरक्षाकर्मी र यसका मतियारहरूको जागिर धरापमा परेको चर्चा सुरु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button