धनगढीमा १० वर्षीय बालकको हत्या, सुनको मुन्द्रा लुटिएको आशंका

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनीका १० वर्षीय तनुज चौधरीको विभत्स हत्या गरिएको छ। गत बुधबारदेखि बेपत्ता रहेका बालकको शव शुक्रबार धनगढी र गौरीगंगाको सीमास्थित कालिका सामुदायिक वनमा फेला परेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान र घटनास्थलको प्रकृति हेर्दा बालकको सुनको मुन्द्रा लुट्ने उद्देश्यले हत्या गरिएको आशंका गरिएको छ। मृतकका आफन्तका अनुसार तनुजले कानमा एक आना बराबरको सुनको मुन्द्रा लगाएका थिए, जुन शव भेटिँदा गायब थियो। घटनास्थलमा बालकको साइकल, चप्पल र रगतले लतपतिएका ढुंगाहरू फेला परेका छन्।

घटनाको विवरणअनुसार, बुधबार तनुज आफ्ना साथीसँग गौरीगंगा–६ मोया गएका थिए। त्यहाँ केही व्यक्तिहरूसँगै गंगटा खाएर फर्कने क्रममा उनी बेपत्ता भएका थिए। प्रहरीले यस घटनाको अनुसन्धानका लागि बालकका साथीसहित चार जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आशंका गरिएका खगेन्द्र कठायत भने फरार छन्।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेकाहरूको परिचय गोप्य राखेको छ। शंकास्पद व्यक्तिको खोजी कार्य तीव्र पारिएको र घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमका लागि पठाइएको छ भने यस दर्दनाक घटनाले स्थानीय त्रसित बनेका छन्। दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन परिवार र स्थानीयले माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button