खासमा किन पक्राउ परे जनआस्थाका सम्पादक श्रेष्ठ ?

काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो ।
एक युवतीले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी परेको थियो ।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो । उक्त समाचारमा आफ्नो नाम जोडिएको भन्दै एक युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । प्रकाशित सामग्रीमा युवतीको व्यक्तिगत विवरण तथा पहिचान जोडिएको विषयलाई लिएर गोपनीयता उल्लंघन भएको दाबी गरिएको छ ।
किशोर श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानपछि प्रकाशित सामग्रीमा कानुनी रूपमा कसुर भएको हो वा होइन भन्ने विषय स्पष्ट हुने बताइएको छ ।



