सरकारी अधिकृतलाई युवतीले चप्पलै–चप्पलले प्रहार गरेपछि…

काठमाडौँ । ललितपुरको इमाडोलमा एक सरकारी अधिकृतले सार्वजनिक सडकमा युवतीमाथि अभद्र व्यवहार गरेको घटना बाहिरिएको छ। रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत ५५ वर्षीय सुरेन्द्र भट्टले बाटोमा हिँडिरहेकी एक युवतीलाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्दै यौन दुर्व्यवहार गरेपछि अहिले उनी प्रहरीको हिरासतमा पुगेका छन्।

आइतबार साँझ साढे ६ बजेको समयमा इमाडोलको व्यस्त सडकमा ती युवती आफ्नो काम विशेषले हिँडिरहेकी थिइन्। सोही क्रममा बैतडी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएका भट्टले सामाजिक मर्यादा र कानुनी सीमालाई लत्याउँदै युवतीको अगाडि आफ्नो अश्लील अङ्ग प्रदर्शन गरे। उच्च सरकारी ओहदामा बसेको व्यक्तिबाटै यस्तो अमानवीय र लज्जास्पद हर्कत भएपछि समाजमा तीव्र आक्रोश पैदा भएको छ।

आफूमाथि भएको दुर्व्यवहारविरुद्ध ती युवतीले चुपचाप सहने वा डराएर भाग्ने काम गरिनन्। उनले तत्काल आफ्नो आत्मसम्मानका लागि प्रतिवाद गरिन् र भट्टको कठालो समातेर सार्वजनिक सडकमै चप्पलले प्रहार गरिन्। भिडियोमा ती अधिकृत आफ्नो गल्ती ढाकछोप गर्न छटपटाइरहेको देखिन्छ। युवतीले ती व्यक्तिलाई कान समातेर उठबस गर्न लगाउनुका साथै सार्वजनिक रूपमा माफी माग्न बाध्य पारेकी थिइन्।

युवतीले उक्त घटनाको भिडियो टिकटकमा सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा चौतर्फी विरोध सुरु भयो। युवतीले आफ्नो पोस्टमा लेखेकी छन्, “मैले सामान्य पहिरन लगाएकी थिएँ, तर मेरो लुगासँग होइन, यस्ता विकृत मानसिकता बोकेका व्यक्तिहरूसँग समस्या छ। सार्वजनिक स्थानमा सुरक्षित महसुस गर्ने अधिकार सबैलाई छ।”

उनको यो साहसले धेरैको प्रशंसा बटुलेको छ। सरकारी पदको दुरुपयोग गर्दै महिलाको अस्मितामाथि खेलवाड गर्ने भट्टको हर्कतविरुद्ध सर्वत्र कारबाहीको माग भएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको छ। हाल प्रहरीको हिरासतमा रहेका भट्टमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button