टुट्दैछ मौनताको जाल, गर्ला त प्रहरीले कमाल ?

काठमाडौँ । सुदूरपश्चिमको शान्त गाउँ कञ्चनपुरलाई आठ वर्षअघि स्तब्ध पारेको निर्मला पन्त हत्या प्रकरणको फाइल फेरि एकपटक पल्टिएको छ । लामो समयदेखि रहस्यको गर्भमा रहेको यो कहालीलाग्दो घटनाको अनुसन्धानका लागि गृहमन्त्री सुधन गुरुङको विशेष सक्रियता र कडा निर्देशनपछि नेपाल प्रहरीका १३ जना अनुभवी अधिकारीको टोली मैदानमा उत्रिएको छ । एसएसपी कृष्ण पंगेनीको कमाण्डमा गठन भएको यो उच्चस्तरीय समिति कञ्चनपुर पुगेसँगै नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नयाँ तरंग पैदा भएको छ । विगतमा थुप्रै समितिहरू बने पनि नतिजा हात नलागेको अवस्थामा यसपटक अनुभवी प्रहरी निरीक्षकदेखि एसपीसम्मको उपस्थिति रहेको यो टोलीले विगतका सबै फाइलहरू पल्टाउने र नयाँ सूचनाको आधारमा काम गर्ने दह्रो प्रतिवद्धता जनाएको छ ।
अनुसन्धान टोली कञ्चनपुर पुगेर सक्रिय भएसँगै यस प्रकरणमा वर्षौंदेखि नाम जोडिएकी आँचल बमले लामो समयको मौनता तोड्दै फेरि एकपटक कडा अभिव्यक्ति दिएकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो ’अन्तिम’ प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफू र आफ्नो परिवार शतप्रतिशत निर्दोष रहेको दाबी गरेकी छिन् । विगतमा प्रमाण नष्ट गर्नका लागि आफ्नो घरको अम्बाको रुख काटेको र घरमा हतार-हतार रङ लगाएको भनी लागेका आरोपहरूको उनले कडा शब्दमा खण्डन गरेकी छिन् । रुख घटनाको १६–१७ दिनपछि मात्र घरको सुरक्षा र बालबालिकाको बचाउका लागि काटिएको स्पष्ट पार्दै उनले घरमा रङरोगन गरिएको भन्ने आरोपलाई पनि ठाडै अस्वीकार गरेकी छिन् । तत्कालीन समयमा पत्रकार रवि लामिछाने स्वयं आफ्नो घरमा आएर स्थलगत रूपमा हेरेको र त्यहाँ कुनै रंगरोगन नगरिएको दाबी गर्दै उनले अब आफूमाथि हुने चरित्र हत्याविरुद्ध कानुनी लडाइँ लड्ने चेतावनी समेत दिएकी छिन् ।
उच्च प्रहरी स्रोतका अनुसार विगतमा प्राविधिक र डीएनए परीक्षणलाई मात्रै केन्द्रित गर्दा अनुसन्धान गिजोलिएको निष्कर्ष निकाल्दै यसपटक प्रहरीले आफ्नो शैली पूर्ण रूपमा परिवर्तन गरी ’कोभर्ट’ अर्थात् गोप्य रणनीति अपनाएको छ । डीएनए परीक्षणको ’च्याप्टर क्लोज’ भएपछि प्रहरीले अन्य प्रमाणजन्य आधारमा अनुसन्धान केन्द्रित गर्दै डीएनए नै अन्तिम सत्य हो भन्ने भ्रमबाट बाहिर निस्किएर त्यो ’सर्कल’ लाई पछ्याउन थालेको छ जहाँ घटनाको रात शंकास्पद गतिविधि भएका थिए । नयाँ सूचना प्राप्त गर्न प्रहरीले अपनाएको यो गोप्य शैलीले अपराधीसम्म पुग्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ, तर अचम्मको कुरा के छ भने अनुसन्धानको सुई अझै पनि पुराना मुख्य संदिग्ध दिलीपसिंह बिष्टकै वरिपरि घुमिरहेको छ । तत्कालीन एसपी दिल्लीराज बिष्टदेखि सीआईबीका अधिकारीहरूसम्मले दिलीप नै शंकाको घेरामा रहेको दाबी गर्दै आएका छन् भने प्रहरीले अहिले दिलीपको बयान र घटनाको परिस्थितिको पुनः मिलान गरिरहेको छ ।
निर्मला पन्तको बीभत्स हत्या भएको यो आठ वर्षको अवधिमा नेपाल प्रहरीले ८ जना आईजीपी फेरिसकेको छ, तर नतिजा भने सधैं शून्य नै रह्यो । प्रहरी संगठनभित्रै पनि कञ्चनपुर पुग्ने प्रहरीहरू अनुसन्धान भन्दा बढी समय बिताउन मात्र पुग्ने गरेको भनी आलोचना हुने गरेको छ, जसले प्रहरीको साख घटाउनुको साथै निर्मलाको परिवारको पीडालाई थप बढाएको छ । अहिले आँचल बमको कडा चुनौती र गृहमन्त्रीको कडा निर्देशनले यो प्रकरणलाई फेरि एकपटक निर्णायक बिन्दुमा पुर्याएको छ । यो केवल एउटा हत्याको अनुसन्धान मात्र नभई नेपाल प्रहरीको व्यावसायिकता र देशको अनुसन्धान क्षमताको साख जोगाउने अन्तिम प्रयास हो, त्यसैले यदि यसपटक पनि यो १३ जनाको टोलीले ठोस नतिजा ल्याउन सकेन भने निर्मला पन्तको न्यायको ढोका सधैंका लागि बन्द हुन सक्छ ।



