गणतन्त्र दिवसको समारोहमा बालेनसँगै रवि पनि मौन!

काठमाडौं । एकपछि अर्को क्रमभंगता गर्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले गणतन्त्र दिवसको स्थापित परम्परा तोडेका छन् । आज उनले गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहलाई सम्वोधन गरेनन् ।
प्रधानमन्त्री शाहले समारोहमा उपस्थिति भने जनाए । उनी पत्नी सविना काफ्लेजसहित समारोहमा उपस्थित भएका हुन् । औपचारिक कार्यक्रमहरूमा कालो पोशाक लगाउने गरेका शाहले आज पनि यसलाई निरन्तरता दिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गरेका थिए । यसअघि नै प्रधानमन्त्री कार्यालयले पौडेललाई सम्बोधन गर्न आग्रह गर्दै पत्राचार गरिसकेको थियो । पौडेलले यसलाई सहजरूपमा लिएर आफैंले सम्वोधन गर्न तयार भए र एउटा स्थापित परम्परा तोडियो ।
त्यसो त प्रधानमन्त्री शाहबाट गणतन्त्र दिवसको अवसरमा कुनै पनि विज्ञप्ति जारी भएको छैन । अनौपचारिक माध्यमबाट पनि उनले शुभकामना दिएका छैनन् । प्राय आफ्ना कुराहरु फेसबुकबाट प्रवाह गर्ने उनले गणतन्त्र दिवसमा भने फेसबुकमा पनि अहिलेसम्म कुनै पोस्ट गरेका छैनन् । बालेन प्रधामन्त्री भएयता नयाँ वर्ष, बुद्ध जयन्ती र मातातर्थ औंसीको दिन फेसबुकबाट शुभकामा दिएका थिए ।
बालेनसँगै रास्वपा सभापति रवि लामिछानेको पनि गणतन्त्र दिवसमा शुभकामना आएको छैन । उनको फेसबुक पनि बालेनको जस्तै सुनसान छ आज । लामिछाने गणतन्त्र दिवसको समारोहमा सरीक भएका थिए ।
लामिछाने सभापति रहेको पार्टी रास्वपाले भने आफ्नो फेसबुक पेजमा एउटा पोस्टर हाल्दै गणतन्त्र दिवसको शुभकामना दिएको छ । पार्टीका एकाध नेताहरुले मात्रै गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।



