नारा ‘जान्नेलाई छान्ने’, तर ट्राफिक नियम आफैं नमान्ने ?

काठमाडौँ । सडकमा कानुनभन्दा ठूलो कुनै “बाघ” हुँदैन, हुनु पनि हुँदैन। तर, आफूलाई ‘बैतडीको बाघ’ भन्न रुचाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिमोहन भण्डारीले यतिबेला सडकमा जंगलकै राजाको शैली देखाएका छन्। जसरी एउटा बाघले जंगलमा कुनै जनावरको डर नमानी मनलागी गर्छ, त्यसरी नै सांसद भण्डारीले ट्राफिक नियमलाई रद्दीको टोकरीमा फालेर सडकमा आफ्नो रवाफ देखाइरहेका छन्।
सार्वजनिक भएको १६ सेकेन्डको भिडियोमा सांसद भण्डारी गाडी हाँक्दै छन्। एक हातमा गाडीको स्टेयरिङ छ, अर्को हातमा मोबाइल फोन। कानमा फोन च्यापेर उनी मज्जाले गफिइरहेका छन्। छेउको सिटमा बसेका अर्का एक पुरुष कुनै ठूलो उपलब्धि हासिल गरेझैँ पोज दिँदै भिडियो खिचिरहेका छन्। भिडियोमा देखिने सांसद भण्डारीको त्यो शैलीले कुनै जनप्रतिनिधिको मर्यादा बोक्दैन, बरु कुनै सडकछाप दादागिरीको झल्को दिन्छ। सांसद भण्डारी आफैंलाई ’सांसद’ भन्दा ’बैतडीको बाघ’ कहलिन रुचाउँछन्। तर, सडकमा ट्राफिक नियमको उपहास गर्दा उनले त्यो ’बाघ’ को साख बचाउन भने सकेनन्। यो भिडियो कहिले र कहाँको हो भन्ने कुरा गौण हो, मुख्य कुरा यो हो कि– सार्वजनिक पदमा बसेको व्यक्तिले कानुनको खिल्ली उडाउँदै गर्दा ट्राफिक प्रहरी किन मौन छ ?
सडकमा एउटा मजदुरले हेल्मेट नलगाउँदा वा गाडी चलाउँदा मोबाइलको प्रयोग गर्दा तत्काल ट्राफिक प्रहरीले समात्छ। जरिवानाको रसिद थमाउँछ। तर, जब एउटा ’भीआईपी’ वा सांसदले त्यही गल्ती गर्छन्, तब ट्राफिक प्रहरीले किन सक्रियता देखाउदैन ? आज सांसद भण्डारीको यो भिडियो सामाजिक संजालमा भाइरल भएपछि धेरैले प्रश्न गरिरहेका छन्– यो देशमा यस्ता नक्कली बाघहरूलाई ट्राफिक नियम लाग्दैन? यसअघिका दृष्टान्तहरू प्रस्ट छन्। जेठ २५ गते प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मोबाइलले भिडियो खिच्दै एक हातले बाइक चलाउँदा ट्राफिक प्रहरीले उनलाई दफा १६४ (१) ग बमोजिम ५ सय रुपैयाँ जरिवाना गरेको थियो। प्रहरीले सार्वजनिक रूपमै भन्यो– “जनगुनासोका आधारमा माननीयलाई कारबाही गरियो।” सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निवास परिसरमा हेलमेट नलगाई बुलेट बाइक चलाउँदा आज ट्राफिक प्रहरी उनकै निवासमा पुगेर जरिवाना तिरायो। वैशाख २ गते सभामुख डीपी अर्याल सवार कार्गेडले थापाथलीमा लेन मिच्दा ट्राफिक प्रहरीले सिंहदरबार पुगेर जरिवाना गरेको थियो। यदि हर्क साम्पाङ, मुख्यमन्त्री शाह र सभामुख अर्याललाई कानुन लाग्छ भने, सांसद हरिमोहन भण्डारी कुन चराको नाम हो? के उनी कानुनभन्दा माथि छन्?
पछिल्लो समय ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा भिडियो भाइरल हुनेबित्तिकै एक्सन लिने गरेको छ। बिना हेल्मेट बाइक कुदाउने, एक हातले गाडी चलाउने, लेन मिच्नेहरूमाथि कारबाहीको डण्डा चलाइरहेको छ। ट्राफिक प्रहरीको यो सक्रियतालाई जनताले स्वागत गरेका थिए। तर, सांसद भण्डारीको प्रकरणमा देखिएको मौनताले ट्राफिक प्रहरीको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ। के ट्राफिक प्रहरीलाई रास्वपाको सांसद भन्नासाथ खुट्टा काम्छ? के ’बाघ’ भनिने सांसदको रवाफ देखेपछि ट्राफिक अधिकारीहरू पछि हट्छन्? यदि यस्तो हो भने, नेपालको ट्राफिक नियम ’बराबर’ नभई ’पहुँचको आधारमा’ चलेको पुष्टि हुन्छ।
सबैभन्दा लाजमर्दो विषय त यो हो कि– अहिलेको सरकारले मोबाइल चलाउँदै गाडी चलाउनेलाई १० हजार रुपैयाँ जरिवाना गर्ने कडा नियम प्रस्ताव गरेको छ। रास्वपा आफैंले सुशासन र नियमको वकालत गर्छ। अनि, तिनै पार्टीका सांसदले सडकमा मोबाइल चलाउँदै गाडी हाँक्नु– के यो पार्टीको नीति र नैतिकता हो? जनताले सामाजिक सञ्जालमा सोधिरहेका छन्– “घरको कम्पाउन्डभित्र बाइक चलाउने मुख्यमन्त्रीलाई कारबाही गर्ने ट्राफिक प्रहरीले, सडकमा खुलेआम नियम मिच्ने ’बाघ’ लाई कारबाही गर्ने हिम्मत राख्छ कि राख्दैन?”
हुन त, ट्राफिक प्रहरीलाई चुनौती छः तत्काल भिडियोको सत्यतथ्य छानबिन गरियोस्, सांसद भण्डारीको गाडी नम्बर पत्ता लगाइयोस् र कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्। ’बैतडीका बाघ’ ले सडकको कानुनभन्दा आफूलाई ठूलो ठान्ने दुस्साहस गरे, त्यसको मूल्य उनले चुकाउनै पर्छ। नेपालको ट्राफिक प्रहरी सडकको रक्षक हो, बाघको चाकर होइन। अब कारबाहीको डण्डा चल्नुपर्छ– निष्पक्ष, निडर र निर्भिक रूपमा। अन्यथा, ट्राफिक प्रहरीको एक्सन एउटा नाटकमात्र सावित हुनेछ।
यो घटनाले रास्वपाको जान्नेलाई छान्ने नारालाई समेत गिज्याइरहेको छ।



