भोटेकोशीको बाढीमा बैतडीका ५ जना बेपत्ता, परिवारमा बढ्यो चिन्ता
सुरक्षाकर्मीदेखि मजदुरसम्म सम्पर्कविहीन, सबैको फोन स्विच अफ!

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बैतडीका पाँच जना बेपत्ता भएका छन्। बुधबार बिहान आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा कार्यरत उनीहरू परिवार तथा आफन्तको सम्पर्कबाट बाहिरिएका हुन्। पाँच जना बेपत्ता भएको बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले पुष्टि गरेकी छन्।
बाढीपछि डिलाशैनी गाउँपालिकाकी सशस्त्र प्रहरी जवान विनिता बोहरा पनि सम्पर्कविहीन भएकी छन्। उनी बुधबारदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएकी छैनन्। बोहराको अवस्था अज्ञात भएपछि परिवारले उनको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको छ। उनलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले परिवारले उपलब्ध गराएको सम्पर्क नम्बरमा खबर गरिदिन अनुरोध गरिएको छ।
त्यस्तै, सुर्नया गाउँपालिका–५ बिष्टपालीका करिब २५ वर्षीय केशव बिष्ट पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। बिष्ट विगत दुई वर्षदेखि रसुवास्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत थिए। बाढी आउनुअघिसम्म परिवारसँग सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको सुर्नया गाउँपालिका–५ का वडा अध्यक्षले जानकारी दिएका छन्।
यसैगरी डिलाशैनी गाउँपालिकाका अन्य तीन जना पनि बाढीपछि बेपत्ता भएका छन्। डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीका अनुसार रसुवागढी हाइवे रिपेयर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्टमा फोरमेन तथा दोभाषेका रूपमा कार्यरत पूर्णबहादुर धामी, रसुवागढी भोटेकोशी हाइड्रोमा इलेक्ट्रिशियनका रूपमा काम गर्ने उमेश धामी र वीरेन्द्र धामी सम्पर्कविहीन भएका हुन्।
उनीहरू रसुवाको ड्यामसाइड र तातोपानी क्षेत्रमा कार्यरत रहेको बताइएको छ। बाढी आएपछि ती क्षेत्रमा ठूलो क्षति पुगेको र सडक तथा सम्पर्क सञ्जालसमेत प्रभावित भएकाले उनीहरूको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सुरक्षाकर्मी, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुर र स्थानीय नागरिकसमेत ठूलो संख्यामा बेपत्ता भएको बताइएको छ। बाढीले सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। हेलिकप्टरसहित सुरक्षाकर्मीको टोलीले प्रभावित क्षेत्रमा पुगेर खोजी तथा उद्धारलाई तीव्रता दिएको छ।
रसुवाको विपद्को खबरसँगै बैतडीमा पनि बेपत्ता पाँच जनाका परिवार र आफन्तमा चिन्ता बढेको छ। उनीहरूको अवस्था चाँडै पत्ता लाग्ने र सकुशल उद्धार हुने आशामा परिवार तथा आफन्त पर्खाइमा छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी कार्य जारी राखेको जनाएको छ।



