अनलाइन पत्रकारिताको विश्वसनीयता जोगाउन प्रेस काउन्सिलको जोड

काठमाडौं । प्रेस काउन्सिल नेपालले हालै सूचना तथा प्रसारण विभागबाट अनुमति प्राप्त अनलाइन सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकहरूका लागि पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सञ्चार माध्यमको विश्वसनीयता र व्यावसायिकता कायम राख्न आचारसंहिताको पूर्ण पालनामा जोड दिइएको छ।

कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका प्रवक्ता दीपक खनालले आचारसंहिताको अक्षरशः पालनाले सञ्चार माध्यमको साख बढ्ने बताए। उनले प्रविधिको विकाससँगै बढेको दुष्प्रचारप्रति सचेत रहँदै एआई (AI) लाई सहयोगी औजारका रूपमा मात्र प्रयोग गर्न सुझाव दिए।

रत्नराज्य क्याम्पसका उपप्राध्यापक डा. जगत नेपालले तथ्य पुष्टि नगरी कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरे। भ्युजको लोभमा अश्लीलता र गालीबेइज्जतीलाई प्रश्रय दिँदा समग्र पत्रकारिताको विश्वसनीयता गुम्ने चेतावनी दिँदै उनले पत्रकारले क्षणिक लाभ नहेरी तथ्यपरक पत्रकारितामा ध्यान दिनुपर्नेमा जोड दिए।

त्यस्तै, पत्रकार थमन प्रसाद भुसालले बालमैत्री, अपाङ्गतामैत्री, महिला उत्तरदायी र ज्येष्ठ नागरिक सञ्चार निर्देशिकाहरूका व्यवस्थाबारे जानकारी गराए। उनले भाइरल सामग्रीभन्दा सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्र व्यावसायिक साख जोगाउने र कानुनी कारबाहीबाट बचाउने बताए।

कार्यक्रममा काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराले काउन्सिलको अनुगमन र उजुरी सुनुवाइबारे सहभागीका जिज्ञासाको जवाफ दिए भने लेखा अधिकृत सिर्जना घिमिरेले सूचीकरणपश्चात् ध्यान दिनुपर्ने विषयमा प्रकाश पारिन्। शाखा अधिकृत सुवास राईले सहजीकरण गरेको उक्त कार्यक्रममा नयाँ सञ्चार माध्यमहरूलाई मर्यादित पत्रकारिता गर्न उत्प्रेरित गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button