अधुरो प्रेमको मार्मिक कथा ‘निरमाया’ सार्वजनिक


काठमाडौं । प्रेम, पीडा र विछोडको गहिरो अनुभूति समेटिएको नयाँ नेपाली म्युजिकल फिल्म ‘निरमाया’ सार्वजनिक भएको छ। DMN Studio को ब्यानरमा निर्माण भएको यो म्युजिकल फिल्मले सम्बन्धभित्रका ती पाटालाई उजागर गरेको छ, जहाँ शब्दभन्दा भावना बढी बोल्छन्।

गीतमा गायक सुबिन सेन्चुरी र गायिका सलिना बी.के.ले दिएको भावपूर्ण स्वरले श्रोतालाई प्रेमको गहिराईसम्म पुर्‍याउँछ। कृष्णराज भण्डारीको शब्द रचना रहेको यस गीतमा संगीत र संगीत संयोजन सुबिन सेन्चुरीले नै गरेका हुन्। गीतको भावलाई दृश्यमा उतार्न निर्देशक मेघराज DLE ले निकै मेहनत गरेका छन्। म्युजिकल फिल्ममा सुबिन सेन्चुरी र बिनिता गिरीको जीवन्त अभिनयले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। साथै, पार्वती भुसाल र रोजिना श्रेष्ठको उपस्थिति पनि उत्तिकै प्रभावशाली देखिएको छ।

यस म्युजिकल फिल्मलाई थप मिठास दिन राहुल विश्वकर्माको गिटार, हिमत कान्छा रसाइलीको सारंगी, रत्न बी.के.को बाँसुरी र अनिल मगरको मादल वादनले गीतलाई मौलिक धुन दिएको छ। ‘Mood on Music’ मा तयार भएको यस गीतको मिक्सिङ तथा मास्टरिङ शाश्वत श्रेष्ठले गरेका हुन्। सिनेमाटोग्राफी सिद्धार्थ सिंहको रहेको छ भने छायांकनमा डेनिश खनालले साथ दिएका छन्। भिडियोको सम्पादन निर्देशक मेघराज DLE ले नै गरेका हुन् भने कलर ग्रेडिङ आलोक वाग्लेले गरेका छन्।

निर्माण पक्षले यो म्युजिकल फिल्म कुनै व्यावसायिक गीत मात्र नभई एउटा कथा भएको बताएको छ। सम्बन्धमा टुटेका मन र सम्झनाका भारी बोकेर हिँड्ने जो कोहीका लागि यो गीतले मलम लगाउने काम गर्नेछ। ‘निरमाया’ लाई Subin Century को आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ। निर्माण समूहले नेपाली मौलिक संगीतलाई माया गर्न र भिडियो हेरेर आफ्ना प्रतिक्रियाहरू दिन दर्शकहरूमाझ अपिल गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button